राजविराज । जिल्ला भरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा बिहीबार अद्र्धवार्षिक परीक्षा सम्पन्न भएको छ ।
शैक्षिक सत्रको आधा समय सम्ममा विद्यार्थीहरुलाई पाठ्यक्रमबाट दिइएको शिक्षाको मुल्यांकन गर्न यस्तो अद्र्धवार्षिक परीक्षा संचालन गरिएको हो ।
अझ नेपाल सरकारले सम्पूर्ण बाल बालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउँन पाठ्यक्रमका सम्पूर्ण पुस्तक विद्यालय मार्फत नै विद्यार्थीहरुलाई निशुल्कउपलब्ध गराउँने व्यवस्था समेत मिलाएको छ ।
सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक उपलब्ध गराउँने जिम्मेवारी समेत सम्बन्धित विद्यालय वा प्रधानाध्यापकको हुन जान्छ ।
तर, सर्वाेदय माध्यमिक विद्यालय कंचनपुरमा अध्ययनरत दर्जनौ बालबालिकाहरु अद्र्धवर्षिक परीक्षा सम्पन्न भएतापनि पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक हाल सम्म पाएका छैनन् ।
सो सम्बन्धमा उक्त विद्यालयका प्रधानाध्यापक ताराकान्त मल्लीकले सवै विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक उपलब्ध गराएको बताउँदै आएतापनि विद्यालयमा अध्ययनरत कक्षा ७ का दर्जनौ विद्यार्थीहरुले हाल सम्म पाठ्यक्रम अनुसारको सम्पूर्ण पाठ्यपुस्तक नपाएको गुनासो गर्छन ।
बुधबार कम्प्युटर विषयका परीक्षा दिन आएका कक्षा ७मा अध्ययनरत छात्र राहुल कुमार गोस्वामीले, आफुले हाल सम्म सामाजिक शिक्षा, विज्ञान तथा गणित विषयका पाठ्यपुस्तक नपाएको डराउँदै बताएका छन् ।
राहुल जस्तै अन्य दर्जनौ विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
कक्षा –७मै अध्ययनरत छात्रहरु दिलिप कुमार खंगले विज्ञान विषयको पुस्तक हाल सम्म विद्यालयले उपलब्ध नगराएको बताएका छन भने अर्का छात्र मुकेश कुमार माझीले गणित पुस्तक हाल सम्म नपाएको बताए ।
यसैगरी, कक्षा–७ मा अध्ययनरत छात्र मनिष कुमार यादवले विज्ञान विषयको पुस्तक नपाएको बताएका छन् भने रोशन कुमार चौधरीले हाल सम्म आफुलाई विद्यालयले पाठ्यक्रमका विज्ञान पुस्तक उपलब्ध नगराएको गुनासो गरेका छन् ।
सो सम्बनधमा जिल्ला शिक्षा कार्यालयका प्रमुख जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सो सम्बन्धमा छानविन गरिने बताउँदै पाठ्यपुस्तक सबै विद्यार्थीहरुले पाउनुपर्ने बताए ।