वीरगंज । स्थानीय निकायको निर्वाचनमा पर्सा र बाराबाट १५ जनाभन्दा बढी सञ्चारकर्मीहरू चुनावी मैदानमा ओर्लिन आकाङ्क्षी देखिएका छन् ।
पर्साबाट १० र बाराबाट ५ जना पत्रकार स्थानीय निर्वाचनमा उम्मेदवारका आकाङ्क्षी देखिएका छन् । यसमध्ये केहीको उम्मेदवारी पक्कापक्की भइसकेको छ । नेपाल पत्रकार महासङ्घ बाराका सदस्य सलमा खातुन पर्सा जिल्लाको पोखरिया नपामा उपमेयरको उम्मेदवार घोषित भइसकेकी छन् ।
स्थानीय निकायको निर्वाचनमा पर्साको ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारहरू बढी सङ्ख्यामा प्रत्याशी देखिएका छन् ।
पत्रकार महासङ्घका उपाध्यक्ष विरञ्चीबर्वा निवासी अनुप तिवारी, पवन तिवारी, धोबिनी निवासी महासङ्घका सहसचिव आरके पटेल, पोखरियाबाट धर्मेन्द्र चौरसिया, धोबिनीबाट लालबाबू बनिया, कालिकामाईबाट छट्टु साह, पकाहा मैनपुरबाट बिन्दुभूषण साह स्थानीय चुनावमा प्रत्याशी देखिएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालले खातुनलाई उपमेयरको टिकट दिएको छ । उनी वीरगंजबाट प्रसारण हुने नारायणी एफएममा कार्यरत थिइन् । उम्मेदवारीमा आप्mनो नाम घोषित भएपछि उनले एफएमबाट राजीनामा दिएकी हुन् । तर उनले नेपाल पत्रकार महासङ्घको साधारण सदस्यबाट भने राजीनामा दिएकी छैनन् ।
नेपाल पत्रकार महासङ्घ, बाराको सदस्य रहेका मोहित चौधरी जीतपुरसिमरा उपमहानगरपालिका–४ बाट वडाअध्यक्षका उम्मेदवार छन् । माओवादी केन्द्रबाट उनले सो वडाको अध्यक्षमा उम्मेदवारी दिने पक्कापक्की छ ।
त्यस्तै, सोही उपमहानगरपालिकाको वडा नं. २० बाट भैयाराम साहले एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिने पक्कापक्की छ भने राजपाबाट आदर्श कोतवाल गाउँपालिकाबाट नुरआलम बादशाह वडा अध्यक्ष पदमा चुनाव लड्ने भएका छन् ।
नेपाल पत्रकार महासङ्घ, बाराका चारैजना सदस्य हुन् । शाखा अध्यक्ष कमलकुमार उपाध्यायले महासङ्घका सदस्य चारजना स्थानीय निर्वाचनमा उम्मेदवारी दिइरहेकोबारे केन्द्रलाई अवगत गराइसकेको बताए । कार्यसमिति सदस्यको हकमा तत्काल राजीनामा वा निष्कासन गर्न सकिने प्रावधान रहे पनि साधारण सदस्यको हकमा महासङ्घको पत्र मौन रहेकोले यसबारे सोधनी गरिरहेको उनले बताए ।
पत्रकार महासङ्घको सदस्य नरहेका प्रेस चौतारी बाराका सदस्य सुरेन्द्र साह करैयामाई गाउँपालिकबाट उम्मेदवार भएका छन् । उनले एमाले परित्याग गरी सङ्घीय समाजवादी फोरम नेपालबाट चुनाव लड्ने बताइएको छ ।
यता, पर्सा जिल्लामा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष अनुप तिवारी, सहसचिव आरके पटेल र सदस्यहरू पवन तिवारी, छट्टु साह, धर्मेन्द्र चौरसिया, निरञ्जन मिश्र पनि उम्मेदवारी दिने होडमा छन् ।
यसैगरी, महासङ्घको सदस्यबाहेकबाट स्तम्भकार कुमार रूपाखेती सङ्घीय समाजवादी फोरम नेपालबाट वीरगंज महानगरको वडा नं. ५ को वडा अध्यक्षको प्रत्याशी भएका छन् ।
त्यसैगरी, पकाहा मैनपुरबाट महासङ्घका पूर्वसदस्य बिन्दुभूषण साह राजपाबाट वडाध्यक्षमा उम्मेदवारी दिने होडमा छन् भने धोबिनी गाउँपालिका–४ को वडाध्यक्षमा लालबाबू बनियाँले उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष चौहान काङ्ग्रेसबाट वीरगंज महानगरको वडा नं. ११ मा दावेदारी दिने तरखरमा छन् ।
यसैगरी, महासङ्घका उपाध्यक्ष अनुप तिवारीले आप्mनो उम्मेदवारीको दाबी रहे पनि टुङ्गो नलागेको बताए । उनी एमालेबाट कालिकामाई गाउँपालिकाको अध्यक्षमा प्रत्याशी हुने तरखरमा छन् ।
त्यसैगरी, सोही गाउँपालिकाको अध्यक्षमा पत्रकार महासङ्घका सदस्य छट्टु साह पनि प्रत्याशीका रूपमा देखिएका छन् । कालिकामाई गाउँपालिकाको अध्यक्षमा तिवारी र साहमध्ये एकजना प्रत्याशी हुने दुवैले बताएका छन् ।
पोखरिया नपा–४ बाट धर्मेन्द्र चौरसिया राजपाबाट वडाध्यक्षको प्रत्याशी हुने बताउँछन् । उनले वडाध्यक्षमा आप्mनो उम्मेदवारी पक्कापक्की भएको पनि दाबी गरे । यसैगरी, वीरगंजबाट प्रकाशित लोकटाइम्स दैनिकका सम्पादक, प्रकाशक पवन तिवारी विरञ्चीबर्वाबाट प्रत्याशी हुँदैछन् । सङ्घीय समाजवादी फोरम नेपाल, पर्साबाट उपमेयरको लागि दबाब आएको तर वडा नं. ५ को वडाध्यक्षमा गाउँलेहरूले थप दबाब दिएकाले दुईमध्ये एक पदमा लड्ने बताए ।
पत्रकार महासङ्घ पर्साका सहसचिव आरके पटेल धोबिनीको अध्यक्षमा स्वतन्त्र प्रत्याशी बनेका छन् । उनले आप्mनो दाबेदारी रहने बताए ।
पत्रकार महासङ्घ पर्साका सदस्य निरञ्जन मिश्र एमालेबाट वीरगंज महानगर–३ को वडाध्यक्ष प्रत्याशी छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले उम्मेदवारी दर्ता नहुन्जेलसम्म आपूmले केही गर्न सक्ने बताउँदै उनले उम्मेदवारी दर्ता भएपछि महासङ्घको सदस्यको हकमा केन्द्रलाई जानकारी गराउने बताए । नेपाल पत्रकार महासङ्घले भने महासङ्घका सदस्यहरूलाई राजीनामा दिएर चुनावमा सहभागी हुन सूचना जारी गरेको थियो ।