काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक जारी छ ।
सिंहदरबास्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११/१५ देखि बैठक बसिरहेको छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
यसअघि बुधबारको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकामा विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि आजका लागि कार्यसूची सरेको थियो ।
बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।
नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि प्रधानमन्त्रीले नै उपस्थित हुनुपर्ने विपक्षीको माग छ ।
यद्यपी आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
सोही बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।







