काठमाडौं, १९ भदौ । राप्रपा विभाजित भएर पशुपतिशमशेर राणाको नेतृत्वमा गठन भएको राप्रपा (प्रजातान्त्रिक) ले चक्र चुनाव चिन्ह लिएर तेस्रो चरणको स्थानीय चुनाव लड्ने भएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर भएका कारण हलो चिन्ह नपाएपछि चक्र चिन्ह लिएर राप्रपा (प्रजातान्त्रिक) चुनावमा जान लागेको हो । चक्र चिन्ह हरिचरण साह नेतृत्वको नेपाली जनता दलको हो ।
जनता दलको सहमतिमा राप्रपा (प्रजातान्त्रिक) ले चक्र चिन्ह प्रयोग गर्न पाएको हो । सहमतिका आधारमा एउटा दलले अर्को दलको चुनाव चिन्ह प्रयोग गर्नसक्ने प्रावधान कानुनमा छ । यही प्रावधानअनुसार डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले उपेन्द्र यादवको मशाल चिन्ह प्रयोग गरेको थियो ।
राजपाले पनि शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको चुनाव चिन्ह साइकल प्रयोग गर्ने भएको छ । निर्वाचन आयोगले पार्टी विभाजनको मान्यता दिएका कारण राप्रपा (प्रजातान्त्रिक) ले हलो चुनाव चिन्ह पाउने अनुमान गरिएको थियो ।
तर स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपत्र पहिले नै छापिएका कारण हलो चुनाव चिन्ह छैन । पार्टी एकीकरणका बेला हलो चिन्ह एक वर्षका लागि निलम्बनमा राख्न राप्रपाले एक वर्षअघि नै निर्वाचन आयोगलाई लिखित पेस गरेको थियो । आगामी मंसिर १ गते मात्रै एक वर्ष पुग्ने भएका कारण प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भने राप्रपा (प्रजातान्त्रिक) ले हलो चुनाव चिन्ह पाउने सम्भावना छ ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र असोजभित्रै छपाइ हुने भएको छ भने प्रत्यक्षतर्फको मतपत्र पनि कात्तिकभित्रै छपाइ भइसक्ने छ । त्यसैले राप्रपा (प्रजातान्त्रिक) ले हलो चिन्हको विकल्प खोजेको हो ।
राणाले पार्टी फुटाउँदा केन्द्रीय समितिको ४० प्रतिशत संख्या नपुर्याएको भन्दै कमल थापाले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । राणा पक्षमा हस्ताक्षर गर्नेमध्ये करिब एक दर्जन जतिले अर्को प्रयोजनका लागि भएको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सार्वजनिक रुपमा बोलेका छन् ।
उनीहरुले अदालतमा गएरसमेत यही कुरा बोलेका कारण राणा संकटमा छन् । यदि राणाले पार्टी विभाजनको मान्यता पाएनन् भने उनको पक्षका १८ जना सांसदको पद धरापमा पर्न सक्छ । तर प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै आएको र अदालतले तत्काल फैसला गर्ने सम्भावना नरहेका कारण राणा पक्ष ढुक्क देखिएको छ । राणाभन्दा पहिलै दर्ता भएको प्रकाशचन्द्र लोहनीको पार्टी राप्रपा (राष्ट्रवादी) ले पनि हलो चिन्ह दाबी गरिसकेको छ ।
राप्रपा (राष्ट्रवादी) का प्रवक्ता महेश्वर रोकायले भने– हलो भएको झण्डा हामीले पाइसकेका छौं, हलो चिन्ह पनि राणाले भन्दा हामीले नै पहिले दाबी गरेका हौं, यदि राणाले पार्टी विभाजनको मान्यता पाए भने बेग्लै कुरा होइन भने हलो चिन्हमा हाम्रो अग्राधिकार भइसक्यो, खबर तरुणमा छ ।
स्थानीय तहको निर्वाचनका लागि विश्वेन्द्र पासवानको पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको उल्लेख गर्दै उनले भने–मंसिरमा हुने प्रदेश सभा निर्वाचनमा भने राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) ले एउटै चिन्ह लिएर चुनाव लड्ने सम्भावना छ ।