
काठमाडौं भदौं । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका कतिपय दल पनि दुई नम्बर प्रदेशको चुनावमा भने एक्लै लड्ने तयारी गरेपछि चुनावी गठबन्धन असफल बनेको हो।
२ असोजमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयन गर्ने कार्यक्रम छ । मंगलबार बेलुकीसम्म कतिपय स्थानमा दलहरूले गरेको तालमेल प्रयास सफल नभएपछि त्यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी भनेका कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दल संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिक एक्लै चुनावी मैदानमा भिड्न लागेका हुन् ।
१३६ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म कांग्रेस-माओवादी केन्द्रबीच चारवटा स्थानीय तहमा मात्रै चुनावी तालमेल भएको छ । अन्य स्थानमा भने कुनै पनि दलले चुनावी गठबन्धन बनाएका छैनन् ।
कांग्रेस-माओवादीबीच मंगलबार धनुषाको मिथिला नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, लालबन्दीमा मेयर माओवादी, उपमेयर कांग्रेस, निजगढमा मेयर कांग्रेस, उपमेयर माओवादी तथा जितपुर सिमरामा मेयर माओवादी र उपमेयर कांग्रेसले लिने गरी तालमेल घोषणा गरेका छन् । आजको अन्नपूर्णमा खबर छ ।