संतोष चौधरी
स्थानीय तहको निर्वाचन क्रममा सबैभन्दा अन्तिममा मतगणना परिणाम आएको राजविराज नगरपालिका निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख र उपप्रमुख पद प्राप्त गरेको छ । राजपाले ५ जना वडाध्यक्ष र २१ जना विभिन्न सदस्य गरी ८२ सदस्यीय नगरसभामा २८ वटा सीट हासिल गरेको छ । राजपाको तर्फबाट शम्भु प्रसाद यादव र साधना झाले क्रमशः प्रमुख र उपप्रमुख पदमा विजय प्राप्त गरेका हुन् । प्रमुख यादव १५ मत र उपप्रमुख झा ९२६ मत अन्तरले विजयी भएका हुन् । उनीहरूले क्रमशः ४७७४ र ५१९५ मत प्राप्त गरेका हुन् । राजपाले प्रमुखको पदको तुलनामा उपप्रमुख पदमा ४२१ मत बढी पाएको देखिएको छ । यस निर्वाचनमा सर्वाधिक लोकप्रिय उम्मेदवारको रूपमा उपप्रमुख साधना झा देखिएकी छन् । राजपाका पाँच वडाध्यक्षहरूमा चन्द्रशेखर चौधरी (१), शम्भु प्रसाद प्रसाद यादव (९), सुशील कुमार दास (१०), शोभा लाल मंडल (१४) र बुचाई दास (१६) विजयी भएका हुन् । राजपाका १६ मध्ये ५ जना महिला सदस्य, १६ मध्ये ५ जना दलित महिला सदस्य र ३२ मध्ये ११ जना पुरुष सदस्य निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका प्रत्याशी भीमराज यादव ४७५९ मत र उपप्रमुख पदका उम्मेदवार किरण कुमारी साह ४२६९ मत लिएर दोस्रो स्थान प्राप्त गरेका छन् । फोरमले चारजना वडाध्यक्ष र २० जना विभिन्न सदस्य जितेको छ । नगरसभामा फोरमको कुल २४ सिट हुनेछ । फोरम वडाध्यक्षहरूमा अरुण कुमार यादव (२), हरिहर यादव (१२), राजेन्द्र प्रसाद यादव (१३) र राम प्रसाद यादव (१५) निर्वाचित भएका छन् ।
राजविराज नगरप्रमुख पदको मतगणना परिणाम अनुसार अन्य प्रत्याशीहरूमा नेकपा माओवादी केन्द्रका अनिस अंसारी (३३१६) तेस्रो, नेपाल लोकतान्त्रिक फोरमका शैलेस कुमार चौधरी (२५०७) चौथो, नेपाली कांग्रेसका ध्रुव प्रसाद देव (२११०) पाँचौं र नेकपा एमालेका सुखराम यादव (२०२७) छैठौं स्थानमा सीमित भएका छन् । यसैगरी उपप्रमुखका प्रत्याशीहरूमा एमालेकी ममता कुमारी चौधरी (२९१२) तेस्रो, माओवादीकेन्द्रकी सुमित्रा कुमारी यादव (२७०४) चौथो, कांग्रेसकी सुशीला कुमारी यादव (२०७२) पाँचौं र लोकतान्त्रिककी पवनीदेवी खंग (१४५८) छैठौं स्थानमा सीमित भएकी छन् ।
फोरमले प्रमुखमा भन्दा उपप्रमुखमा ४९० मत, माओवादीले ६१२ मत, लोकतान्त्रिकले १०४९ मत, कांग्रेसले ३८ मत कम पाएको छ भने एमालेले प्रमुख भन्दा उपप्रमुखमा ८२५ मत बढी पाएको देखिएको छ । फोरम (४९०), माओवादी (६१२), लोकतान्त्रिक (१०४९) र कांग्रेसले (३८) गुमाएको कुल उपप्रमुख मत २१५१ को मुख्य भाग राजपाकी साधना र एमालेकी ममताको पोल्टामा गएको देखिन्छ ।
राजविराज नगरपालिकाको १६ वडाध्यक्षहरूमा राजपाका ५, फोरमका ४, माओवादीका ४, कांग्रेसका १ ले जित हासिल गरेको छ भने दुईजना स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादीका  अलिअख्तर (४), प्रेम कुमार यादव (६), जय नारायण मंडल (८), संजय कुमार यादव (११) निर्वाचित भएका छन् । त्यस्तै कांग्रेसका समीर कुमार झा (५) र स्वतन्त्रहरूमा सुदर्शन प्रसाद सिंह (३) र मांगीलाल नाई (७) वडाध्यक्ष निर्वाचित भएका छन् ।
वडा समितिका सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरूको निर्वाचन परिणाम अनुसार १६ वटै वडाका २ जना सदस्यका दरले ३२ जनामध्ये राजपाले ११ जना, फोरमले १० जना, माओवादीले ४ जना, कांग्रेसले ४ जना, एमालेले २ जना र लोकतान्त्रिकले १ सदस्य जिताएका छन् । १६ जना महिला सदस्यमध्ये राजपाले ५ जना, फोरमले ५ जना, माओवादीले २ जना, कांग्रेसले २ जना र एमाले तथा लोकतान्त्रिकले १÷१ जना जिताएका छन् भने महिला दलित सदस्य १५ जनामध्ये राजपाले ५ जना, फोरमले ५ जना, कांग्रेसले ३ जना, माओवादीले २ जना र लोकतान्त्रिकले १ जना पाएका छन् । एमालेले दलित महिला सदस्य जिताउन सकेन ।
दलगत आधारमा ८२ सदस्यीय राजविराज नगरसभामा राजपाको २८, फोरमको २४, कांग्रेसको ९, माओवादीको ८, लोकतान्त्रिक ३ र एमालेको ३ जना पुगेका छन् । राजपा र फोरमका गरी ५२ जना हुन्छन् भने कांग्रेस, माओवादी र एमालेको गरी २० जना हुन्छन् ।
राजविराज नगरपालिका बोर्ड
प्रमुख        शम्भु प्रसाद यादव (राजपा)
उपप्रमुख    साधना झा (राजपा)
सदस्य वार्ड १    चन्द्रशेखर चौधरी (राजपा)
सदस्य वार्ड २    अरुण कुमार यादव (फोरम)
सदस्य वार्ड ३    सुदर्शन प्रसाद सिंह (स्वतन्त्र)
सदस्य वार्ड ४    अख्तर अलि (माओवादी)
सदस्य वार्ड ५     समीर कुमार झा (कांग्रेस)
सदस्य वार्ड ६    प्रेम कुमार यादव (माओवादी)
सदस्य वार्ड ७    मांगी लाल नाई (स्वतन्त्र)
सदस्य वार्ड ८    जय नारायण मंडल (माओवादी)
सदस्य वार्ड ९    शम्भु प्रसाद यादव (राजपा)
सदस्य वार्ड १०    सुशील कुमार दास (राजपा)
सदस्य वार्ड ११    संजय कुमार यादव (माओवादी)
सदस्य वार्ड १२    हरिहर यादव (फोरम)
सदस्य वार्ड १३    राजेन्द्र प्रसाद यादव (फोरम)
सदस्य वार्ड १४    शोभा लाल मंडल (राजपा)
सदस्य वार्ड १५    राम प्रसाद यादव (फोरम)
सदस्य वार्ड १६    बुचाई दास (राजपा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको