काठमाडौं असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै शक्ति उपयोग गरेर पहिलो हुने निर्णय गरेको छ ।
त्यसको लागि उसले सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रस्ताव गरेको छ । एमालेसँग टाढिएको माओवादी केन्द्रलाई नेपाली कांग्रेसबाट अलग गराउने रणनीति अन्तरगत यस्तो प्रस्ताव अघि सारिएको हो ।
एमाले स्थायी समितिको आइतवार बसेको अनौपचारिक बैठकले माओवादीसंग चुनावी तालमेलको प्रस्ताव गर्ने निर्णय गरेको स्रोतको दाबी छ । कांग्रेस–माओवादी गठबन्धन भत्काएर वामपन्थी गठबन्धन बनाउने एमाले केन्द्रीय समिति बैठकमा आवाज उठेको थियो ।
एमालेले औपचारिक निर्णय गरेरै माओवादी केन्द्रसंग चुनावी तालमेलको प्रस्ताव गर्ने तयारी गरेको छ । यसअघि कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावमा तालमेल गरेका थिए । यता माओवादीले पनि एमालेसँग चुनावमा सहकार्य हुनुपर्ने बताउँदै आएका छन् ।
आफ्नो पार्टीलाई निषेध गरेर प्रदेश नम्बर २ मा गरिएको चुनावको समग्र प्रतिनिधित्वमा एमालेले दोस्रो स्थान हासिल गरेको भन्दै सकारात्मक रुपमा लिएको छ । प्रदेश २ को स्थानीय चुनावको समीक्षा गर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका वावजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष ब्यक्त गरेको हो ।
संघीय र प्रदेशिक संसदको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षाका लागि एमाले स्थायी समितिको बैठक आइतबार बसेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गरेको छ ।
बैठकले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको निष्कर्ष निकालेको छ । प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दा पनि समग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको छ ।
स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।