काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने गौतमले बताए । उनका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन । टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ ।

भाइटीकाको समय दाजुभाइ पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिन राम्रो हुन्छ । आज पश्चिममा चन्द्रमा भएकाले लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको प्रा.डा. गौतमले बताए । शास्त्रीय मान्यताअनुसार भाइटीका लगाउनु अघि केही विधि पनि पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । टीका लगाइदिइसकेपछि घरको मूल ढोकामा ओखर फोड्ने चलन छ । यसो गर्दा सबै बाधा अड्चन हट्ने धार्मिक विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको