
कात्तिक ४ बिराटनगर \ नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदार नियुक्त हुने निश्चित भएको छ । यसको खुलासा स्वयम् गच्छदारले गृहनगर विराटनगर पुगेर गरेका छन् ।
सरकारका उपप्रधानमन्त्री समेत रहेका गच्छदारले उपसभापति पद पाउने सहमतिका अनुसार नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच एकीकरण भएको खुलासा गर्दै दुबै पार्टी मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएको टिप्पणी गरे।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भने– ‘लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको छ । पार्टी एकीकरणका क्रममा काँंग्रेससँग मलाई उपसभापति पद दिने समझदारी भएको थियो । अबको पार्टी उपसभापति म नै हो ।’नेता गच्छदारले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मानजनक ढंगले पद दिने सहमति भएको समेत उल्लेख गरे।
उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको दाबी गरे ।गच्छदारले आफूलाई उपसभापति बनाउने सहमति भएको खुलासा गरेसँगै उपसभापतिका प्रबल दाबेदार विमलेन्द्र निधि भने पछि हटेको बुझिन्छ ।