काठमाडौं/यही मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधी सभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । प्रतिनिधी सभा र प्रदेश सभाका लागि एकैपटक एउटै मतपत्रमार्फत निर्वाचन हुँदैछ ।
यस निर्वाचनमा मतदाताले संघीय तहमा रहने प्रतिनिधी सभाका सदस्य एवम ७ वटै प्रदेशमा रहने छुट्टाछुट्टै सदस्यहरु निर्वाचित गर्नेछन् ।
यी दुई तहका प्रतिनिधी निर्वाचित गर्नका लागि दुई वटा मतपत्र तयार पारिएको छ । जसमध्ये प्रत्यक्षतर्फको मतपत्र हरियो रंगमा छापिएको हुन्छ भने समावेशी तथा समानुपाती निर्वाचन प्रणाली अन्तर्गत रातो रंगमा मतपत्र छापिएको हुन्छ ।
दुबै मतपत्रमा दुई वटा मतपत्र जोडिएको हुन्छ । दुबै वटा मतपत्रमा तल र माथि गरी दुई वटा खण्ड हुनेछन् । हरियो मतपत्रको पहिलो खण्डमा प्रत्यक्षतर्फ प्रतिनिधी सभा सदस्यका लागि मतसंकेत गरिनेछ भने सोही मतपत्रको तलपट्टी रहेको दोस्रो खण्डमा प्रदेश सभा सदस्यका लागि मतसंकेत गरिनेछ ।
त्यस्तै, दोस्रो मतपत्र रातो रंगमा छापिएको हुन्छ । जसमा समावेशी, समानुपातिक निर्वाचन अन्तर्गत मतसंकेत गरिन्छ । दोस्रो मतपत्रमा पनि पहिलोमा जस्तै दुई वटा खण्ड हुन्छन । जसमा माथिल्लो भागमा एउटा र तल्लो भागमा अर्को गरी दुई वटा मतपत्रका खण्ड हुन्छन् ।
पहिलो अर्थात माथिल्लो खण्डमा प्रतिनिधी सभाका लागि समानुपातिक तर्फबाट कुनै एक राजनीतिक पार्टीका लागि मत दिइन्छ भने अर्को खण्डमा प्रदेश सभाका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आफूले रोजेको राजनीतिक पार्टीको चिन्हमा मत संकेत गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुराहरु
मतपत्र लिने क्रममा मतदान अधिकृतको हस्ताक्षर भएको सुनिश्चित गर्नुपर्छ । अधिकृतको हस्ताक्षर नभएको मतपत्रको मान्यता हुँदैन । र मतपत्र बदर हुन्छ । माथिल्लो खण्डमा रहेका मतपत्रमा आफूलाई मन परेको उम्मेदवार वा पार्टीको कुनै एक चिन्हमा एउटा मात्रै मतसंकेत गर्नुपर्छ । त्यसै गरी तल्लो खण्डमा रहेको प्रदेश सभाका लागि पनि आफूलाई मन परेको उमेदवार वा पार्टीको चिन्हमा मात्रै मतसंकेत गर्नुपर्छ ।
स्वस्तिक छाप कसरी लगाउने
मतपत्रमा आफूलाई मन परेको उम्मेदवार वा पार्टीको चुनाव चिन्ह भएको कोठा भित्र पर्ने गरी मतसंकेत गर्नुपर्छ । मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिन्हले मतसंकेत गरेमा मत बदर हुन्छ । मतसंकेत गर्ने क्रममा स्वस्तिक छाप लतपतिने गरी लगाएमा मत बदर हुन्छ । उम्मेदववार वा दलको चुनाव चिन्हमा कोठाभन्दा बाहिर मतसंकेत गरेमा मत बदर हुन्छ । त्यसै गरी निर्वाचन चिन्ह रहेको दुईवटा कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।