काठमाण्डौ,११ कार्तिक । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्ने दौडमा रहेका बाँकेका विभिन्न दलका अधिकांश आकाङ्क्षी राजधानीसमेत पुगेर नेता रिझाउन व्यस्त छन् ।
जिल्लाबाट सिफारिस भएका र नभएका दुवैखाले आकाङ्क्षी महिना दिनभन्दा पनि बढी समयदेखि काठमाडौँमै बसेर टिकट पाउनका लागि दौडधूप गरिरहेका छन् । उनीहरूको अधिकांश समय ठूला नेता रिझाउने प्रयासमै बितिरहेको छ । दसैँको बेला राजधानी पुगेका अधिकांश आकाङ्क्षी भाईटीकामा समेत घर फर्केनन् ।
जिल्लाबाट सिफारिसमा परेका र नपरेका अधिकांश जिल्लाका नेता टिकटकै लागि लामो समयदेखि पार्टी केन्द्रीय कार्यालय र नेताका घरमा धाइरहेको नेपाली काँग्रेस बाँकेका एक स्थानीय नेताले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं. १ मा पत्रकार पोषण केसी, पूर्वसांसद ज्ञानु केसी, २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार भइसकेका नारायण सिग्देलको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
उहाँहरू हाल काठमाडौँमै नेतासग भेटघाटमै व्यस्त हुनुहुन्छ । नेपाली काँग्रेस बाकेका सचिव तप्त पौडेलले उम्मेदवारीमा सिफारिसमा परेका अधिकांश नेता केन्द्रीय नेताका घरमा धाइरहेको बताउनुभयो ।
पार्टीले योग्य र जित्ने नेतालाई उम्मेदवार बनाउने विश्वास रहेको धारणा व्यक्त गर्नुहुने उहाँले धेरै आकाङ्क्षी भएकाले नै टिकटका लागि यति धेरै दौडधूप भएको हो भन्नुभयो ।
नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र गठबन्धनका नेता पनि टिकटकै लागि दौडधूपमा पाइन्छन् । एमालेबाट बा“के अध्यक्ष अशोक कोइराला र सूर्य ढकालको नाम प्रत्यक्षतर्फ सिफारिसमा परेको छ तर माओवादी केन्द्रका नेता महेश्वर गहतराज त्यो क्षेत्र माओवादी केन्द्रको भागमा पारेर उम्मेदवार बन्ने कसरतमा लाग्नुभएको छ ।
काँगे्रसले प्रतिनिधिसभा क्षेत्र २ बाट नाम सिफारिस गरेका पूर्व समानुपातिक सांसद मोहम्मदी सिद्दिकी, भोला सिद्दिकी, २०७० को निर्वाचनमा उम्मेदवार भइसकेका राजकुमार बर्मा र निरञ्जनसिंह सिजापतीबीच टिकटका लागि कडा प्रतिस्पर्धा छ ।
एमाले–माओवादी गठबन्धनका तर्फबाट त्यस क्षेत्रमा पशुपतिदयाल मिश्राले टिकट पाएर चुनावी प्रचारसमेत सुरु गरिसक्नुभएको छ । यसैगरी, फोरमबाट पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि टिकट पाएर प्रचारप्रसार सुरु गरिसक्नु भएको छ । यो क्षेत्रमा मिश्र र राईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ बाट काँग्रेसले समानुपातिक सांसद बादशाह कुर्मी, पुराना नेता युवराज शर्मा र रवीन्द्रमान श्रेष्ठको नाम केन्द्रमा पठाएको छ । उहाँहरू पनि टिकटका लागि दौडधूपमै व्यस्त हुनुहुन्छ ।
एमालेले आन्तरिक निर्वाचन गरेर नन्दलाल रोकाय र कमल बस्नेतको नाम सिफारिस गरे पनि त्यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दलबहादुर सुनारको दाबी अझै पनि सबैभन्दा बलियो छ ।
एमाले बा“केका अध्यक्ष अशोक कोइरालाले जिल्ला र प्रदेशको सिफारिसअनुसार, उम्मेदवार छनोट हुनेभएकाले केन्द्रमा दौडधूप अनावश्यक रहेको बताउनुभएको छ । नेताहरूको घर धाएकै भरमा टिकट पाउने भए जिल्ला र क्षेत्रको अर्थ नै नरहने उहाँको भनाइ छ ।
यसैगरी, जिल्लाका छवटा प्रदेशसभाका लागि पनि दर्जनौँ नेता÷कार्यकर्ता टिकट पाउन दौडधूपमै व्यस्त देखिएका छन् । गोरखापत्रबाट ।