काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रप्रति कठोर व्यवहार गर्दै भय र असहजता सिर्जना गर्ने गरेको आरोप लगाएकी हुन् ।

‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन,’ झाँक्रीले भनिन् ।

उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सुनेर त्यसपछि मात्र थुन्न आग्रह गरिन् । उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गरिन् ।

उनका अनुसार निजी क्षेत्रलाई नियन्त्रण वा रोकटोक गर्नाले सरकारले जनताले दिएको ठुलो जनमतको अवसरलाई दुरुपयोग गरिरहेको छ ।

यसैगरी झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै योजनाको पुनरावृत्ति जस्तो देखिएको भन्दै यसले अपेक्षित परिवर्तन ल्याउन नसक्ने बताइन् ।

उनका अनुसार सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखे पनि केवल नागरिकता, राहदानी वा जग्गाधनी प्रमाणपत्र वितरणलाई मात्र उपलब्धिका रूपमा प्रस्तुत गर्नु पर्याप्त होइन । उनले वास्तविक विकासका लागि प्रभावकारी सेवा प्रवाह र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको