राजविराज २८ मंसिर । जिल्ला प्रशासन कार्यालयका कर्मचारी र वडा सचिवको मिलोमतोमा भारतीयलाई नक्कली नागरीकता वितरण भइरहेको खुलासा
राजविराज, २८ मंसिर । भारतीय नागरीक संग रकम लिई सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली नागरीकता बनाएर वितरण कार्यमा संलग्न आरोपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, वडा सचिव र तीन जना भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी पदमा कार्यरत र्सलाही जिल्ला ब्रह्मपुरी गाउँपालिका ७ बस्ने ३० वर्षीय अजय कुमार यादव, राजविराज नगरपालिका वडा नं. १० का सचिव रहेका महदेवा गाउँपालिका १ बस्ने मो. वकिल मियाँ, सुनसरी हरिपुर गाउँपालिका वडा ८ बस्ने ५५ वर्षीय कलिम मियाँ र झापा जिल्लाको मिर्तामोड नगरपालिका ४ बस्ने बताउने भारतीय नागरीक (ठेगाना नखुलेको) २८ वर्षीय मो. सइरो छन् ।
यस्तै नक्कली नागरीकता कारोबारमा संलग्न भारतको उत्तरदेनाजपुर जिल्ला अन्तकोठा ग्राम पञ्चायत २ बस्ने ३१ वर्षीय मो. लतिपूmर रहमान, किसनगंज जिल्ला तिवरीया ग्रामपञ्चायत २ निवासी मो. नबेद पनि पक्राउ परेका छन् । सप्तरी प्रहरीले सबै ६ जनालाई विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनीक गरेको छ ।
स्थानीय राजरंशालामा नक्कली नागरीकता विक्री गर्ने गिरोह र खरिद गर्ने व्यक्तिको छलफल चलिरहेको गोप्य सूचना पाएपछि बुधबार साँझ प्रहरीले घेरा हाली उनीहरुलाई पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेश सिंहले उनीहरुको साथबाट नक्कली नागरिकता बनाउन प्रयोग गरिने सरकारी छाप, विभिन्न व्यक्तिको नाममा बनाइएको नक्कली नागरीकता प्रमाण पत्र कार्ड, कर्मचारी परिचयपत्र, सिम सहितको ६ थान मोवाइल र विभिन्न व्यक्तिबाट नागरिकता बनाइ दिने भन्दै लिएको नगद १ लाख १५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिए ।
पक्राउ परेका तीनै जना भारतीय नागरीक वडा सचिव मो. वकिल र जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी अजय कुमार यादव बाटै नक्कली नागरीकता प्राप्त गरेको वयान दिएका छन् ।
यस्तै पक्राउ परेका झापा जिल्ला मिर्तामोड निवासी भनिएका मो. सइरोको पनि नागरिकता नक्कली रहेको र उनीपनि भारतीय नागरीक भएको प्रारम्भीक अनुसंधानको क्रममा खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिंहले बताए ।
अनुसंधानको क्रममा वडा सचिव वकिलले भारतीय नागरीकलाई नागरिकता बनाइ दिनछु भन्दै प्रलोभनमा पार्ने र त्यस काममा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी यादवले सघाउने गरेको खुलेको छ । नागरीकता प्रमाणपत्र कार्ड र छापहरु कार्यालयबाट चोरेर कार्यालय सहयोगी यादवले वडा सचिव मो. वकिललाई उपलब्ध गराउने र वकिलले भारत घर भई व्यापार व्यवसायको सिल्सिलामा नेपालका विभिन्न ठाउँमा बसोबास गरी रहेका भारतीय नागरीकहरुलाई खोजी गरी प्रति व्यक्ति ४० देखि ५० हजार रुपैयाँ सम्म लिएर नक्कली नागरीकता वितरण गरिरहेको अनुसंधानको क्रममा खुलेको छ ।
भारतीय नागरीकलाई विस्वस्त पार्न उनीहरुले जिल्ला प्रशासन कार्यालयमा नागरीकता आवेदनको लागि प्रयोग गरीने दर्ता रजिष्टर समेत प्रयोग गर्ने गरेका थिए ।
‘ यस कार्यमा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी यादव र वडा सचिव मो. वकिलको मुख्य भुमिका देखिएको छ, प्रहरी उपरिक्षक सिंहले भने,– पक्राउ परेकाहरु उपर नक्कली नागरीकता र सरकारी छाप दस्तखत किर्ते मुद्दा अन्तर्गत कारवाही प्रक्रिया सुरु गरिएको छ ।’







