लहान १८ पुस । नेकपा (क्रान्तिकारी माआवादी) का नेता सि.पी. गजुरेलले वर्तमान काम चलाउ सरकारले वैधानिक रुपले देश लुटिरहेको आरोप लगाउनु भएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय संयोजक समेत रहेका गजुरेलले पार्टीको २ नं. प्रदेश स्तरीय बैठकपछि आज बिहान सिरहाको लहानमा आयोजित पत्रकार सम्मेलनमा मुलुकमा समृद्धि ल्याउने सपना बाँड्दै सम्पन्न संघ र प्रदेशको निर्वाचनपछि काम चलाउन हैसियतमा झरेको देउवा सरकारले राहतका नाममा देश लुटिरहेको आरोप लगाउनु भएको हो ।
‘हप्ता दिनमै दुई दुई पल्ट पेट्रोलियम पदार्थको मूल्य बृद्धि, राहतका नाममा कार्यकर्तालाई करोडौं रुपैयाँ वितरण र पूर्व भईसकेका सांसदलाई संसदीय विकास लागि भन्दै अर्बौं रुपैयाँ वितरण वैधानिक लुट र राजनीतिक भ्रष्टाचार हो’ पत्रकार सम्मेलनमा गजुरेलले भन्नु भयो ।
संघ र प्रदेशको निर्वाचनमा मत खरिदका लागि करोडौं रुपैयाँको खोलो बगाएको आरोप लगाउँदै नेता गजुरेलले त्यसरी आएको निर्वाचन परिणाम आफूहरुले नमान्ने बताए । ‘करोडौं रकम खर्च गरेपछि आएको पछिल्लो निर्वाचनको परिणाम वास्तविक जनमत होइन’ उहाँले भन्नुभयो ।
लोकतन्त्रमा आवधिक निर्वाचनलाई स्वाभाविक रुपले लिनु पर्ने बताउँदै उहाँले भन्नुभयो ‘तर निर्वाचनमा जनताको मतादेशलाई रकम खर्चिएर खरिद गर्ने विकृत गर्ने बाटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले खोलिदिएकाले यो पश्चगमी संविधान हो ।’ त्यसैले आफूहरु जनपक्षीय संविधान र जनगणतन्त्र स्थापनाका लागि संघर्षको तयारीमा रहेको उल्लेख गर्नुभयो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सम्भावित पार्टी एकताको सन्दर्भमा विचार नीति मिलेपछि एकता स्वाभाविक रहेको चर्चा गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका मर्म, माग र माओवादलाई त्यागिसकेकाले एमालेसँग मिल्नु अनौठो मान्न नहुने औंल्याउनु भयो । माओवादी केन्द्रसँग पूर्व माओवादी घटकहरुसँगको एकताको सन्दर्भमा उहाँले पार्टी एकता त धेरै परको कुरा, कार्यगत एकता समेत नहुने दावी गर्नुभयो ।







