राजविराज । जिल्लामा जाडोका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरण गाउँपालिका(४ का ६० वर्षीय लखन ठाकुर, तिलाठी कोईलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजन ठाकुर र ७ का ३५ वर्षीय शिबु मण्डल छन् ।
लखन र सुजनको शनिबार मृत्यु भएको हो भने शिबुको शुक्रबार राति जाडोका कारण कठ्याग्रिंएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
उनीहरु तीन जनाको ज्यान गएपछि सप्तरीमा जाडोका कारण कठ्याग्रिंएर मृत्यु हुनेको संख्या ९ पुगेको छ। अति विपन्न परिवार न्यानो कपडाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन्। स्थानीय प्रशासनले चिसोबाट प्रभावित नागरिकलाई कुनै राहतको प्रबन्ध नगरेको भन्दै स्थानीय बासिन्दा गुनासो गरिरहेका छन्।
सामुदायिक विद्यालय थप ४ दिन बन्द
अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप ४ दिन बन्द गरिएको छ। यसअघि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो।
अत्यधिक चिसो बढेपछि शिक्षा समितिको निर्णय अनुसार पुस २६ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए।
एक साताभन्दा अघिदेखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४ सय १२ वटै सामुदायिक विद्यालय बिहीबारदेखि नै बन्द छन्। निजी विद्यालय भने सञ्चालन भइरहेका छन् । चिसोका कारण निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन ्।







