सप्तरी , २८ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको भन्दै यसलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तहको निर्वाचन पछि राजविराज नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले विश्वका विभिन्न देशहरुले छोटो समयमै विकास र समृद्धिमा फड्को मारेको बताउ । उनले भने ‘भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको छ, यसलाई जरैदेखि निर्मूल गर्नुपर्छ ।’
अध्यक्ष यादवले देशको वैदेशिक मामिला, राष्ट्रिय सुरक्षा र विकासको सवालमा सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अधिकारसँगै विकास र निर्माण कार्यलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै उनले भने ‘अधिकारकालागि संघर्ष स्वाभाविक हो तर विकास निर्माणको सवालमा विवाद कदापी हुनुहुँदैन ।’
परिषदमा नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेका छन् । नगर सभाको उद्घाटन समारोहमा राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शिक्षामन्त्री रेणु कुमारी यादव, राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर प्रसाद सिंह, प्रदेश सभा सदस्यद्वय शैलेन्द्र प्रसाद साह, मनिष कुमार सुमन लगायले अ–आफनो मन्तव्य व्यक्त गरेका थिए ।







