काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमामय पदलाई विवादित बनाएको टिप्पणी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले राष्ट्रियसभा सदस्य सिफारिसमा देउवा सरकारको निर्णय फिर्ता गर्दै नयाँ सरकारले पठाएका नामहरु अनुमोदन गर्ने कार्य गैरकानुनी भएको दाबी गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति पार्टीको नभई देशको हुनुपर्नेमा उक्त भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारी असफल भएको आरोप लगाए।

‘अघिल्लो सरकारलाई विधेयक अड्काउनेदेखि सिफारिस रोक्ने कार्य राष्ट्रपति भण्डारीले गर्नुभयो’, शर्माले भने, ‘तर यो सरकार गठन गर्नेदेखि सिफारिस उल्टाउने निर्णय संवैधानिक प्रक्रिया नै मिचेर किन भए? यसले राष्ट्रपति निष्पक्ष हुन नसकेको पुष्टि भएको छ।’

प्रवक्ता शर्माले भण्डारीले राष्ट्रपतिभन्दा पनि एमाले नेताको रुपमा व्यवहार गरेको आरोप लगाए।

केपी शर्मा ओली नेतृत्वको सरकारले देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि पठाएका नामहरु फिर्ता लिँदै नयाँ नाम सिफारिस गरेको थियो। ओली सरकार आएसँगै निर्णय उल्टाएकोमा कांग्रेस राष्ट्रपति भण्डारी विरुद्ध खनिएको हो। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेकोमा राष्ट्रपतिले त्यसलाई अनुमोदन गरिसकेकी छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको थियो। यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको