जनकपुरधाम -प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतले केन्द्रीय सरकारको असहयोगका विरुद्धमा अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रदेश सरकारको काममा केन्द्रीय सरकारले अवरोध गरिरहेको भन्दै उनले आन्दोलन गर्न बाध्य हुने बताए ।

मुलुक संघीयतामा गए पनि केन्द्र सरकारको सोच र शैलीमा पुरानै रहेको मुख्यमन्त्री राउतले गुनासो गरे । गरिबी निवारण कोषले जनकपुरमा गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘केन्द्र सरकारको सोच र शैलीमा परिवर्तन आउनु जरुरी छ ।

पुरानै व्यवहार गरिरहे हामी आन्दोलनमा जान्छौं ।’ केन्द्रीय सरकार मातहत रहेको कर्मचारी र प्रहरी–प्रशासनले असहयोग गरिरहेको भन्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी ओलीलाई पत्र समेत लेखेका थिए । उनले भने, ‘मुलुक प्रधानमन्त्रीले नै चलाउने भए, मुख्यमन्त्री किन चाहियो ?’ मुख्यमन्त्री राउतले कानुन बनाएर प्रहरी–प्रशासनलाई प्रदेशको मातहातमा ल्याउने प्रयास गर्ने बताए । केन्द्र सरकारले बनाउने योजनाहरु भूगोलको आधारमा मात्र नभई जनसंख्या तथा आवश्यकताको आधारमा बनाउनु पर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर