काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते हुने भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार संसदीय दल निर्वाचन समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि निर्वाचन गर्ने भएको समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।
समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ।
समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्देम्वे छन्। बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा पछि नहट्ने अडानमा छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि देउवाविरुद्ध लड्ने सुरमा छन्।







