राजविराज–जवरजस्ती करणी तथा मोटरसाईकल चोरी र लागु औषध सहित पक्राउ परेका ९ जनालाई सप्तरी प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका मध्ये ६ जना वालात्कारको आरोपी छन् । जवरजस्ती करणी गरेको आरोपमा सप्तरीको शम्भुनाथ ५ का गेनाई राम, ३ का एटलान्टिक चौधरी, अजय चौधरी, विष्णुपुर गाउँपालिका ७ का जिवछ राम, इसराईल मियाँ, सिरहा भगवानपुर गाउँपालिका १ का वैजनाथ दास र वाँके जिल्ला राप्ती सोनारी गाउँपालिका ५ का खेमराज वैस्य गरी ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
जसमध्ये ईसराईल मियाँलाई भारतीय प्रहरीको सहयोगमा आईतवार विहानै भारतको अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायत स्थित एक घरमा लुकिछिपी वसीरहेको अवस्थामा पक्राउ गरीएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।
गत फागुन ११ गते विष्णुपुर गाउँपालिका ७ वस्ने एक २२ वर्षिया महिलालाई वलात्कार गरी भारततर्फ भागेका उनलाई जिल्ला प्रहरी कार्यालयवाट प्रनानी जयप्रकाश साहको नेतृत्वमा खटेको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो।
पक्राउ परेका अन्य अभियोगीहरु केहि घटनास्थलमै र केहि घरमै लुकिछिपी वसिरहेको अवस्थामा पक्राउ परेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । हालै शम्भुनाथ, छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा भएका वलात्कारका घटनामा उनीहरुको संलग्नता रहेको प्रहरी उपरिक्षक सिंहको भनाई छ ।
सोहि पत्रकार सम्मेलनमा लागु औषध कारोवारमा संलग्न रहेको धनुषा जिल्ला जनकपुर नगरपालिका १३ का मिथिलेश ठाकुर र मोटरसाईकल चोरीको अभियोगमा पक्राउ परेका विष्णुपुर गाउँपालिका ४ का प्रमेश्वर यादवलाई पनि सार्वजनिक गरिएको छ ।
जिल्लामा वढ्दो वलात्कारका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सामुदायिक चेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा लैङ्गिक हिन्सा विरुद्ध महिला सञ्जालका माद्यमले जिल्लाका विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गर्ने तयारी गरिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । यसका लागि प्रहरी निरिक्षक सुजाता तुम्वाहाम्फेको नेतृत्वमा एक टोली नै गठन गरिएको एसपी सिंहले वताए ।
सुरक्षा ब्यवस्था कडा पारेर मात्रै नियन्त्रण गर्न सकिदैन’ सिंहले भने–सामाजिक कलंक र विक्रितिको रुपमा देखिएको यस्तो समस्या प्रति जनस्तरवाटै गहिरो चासो नराखिएसम्म यस्ता चुनौतीको सामना गर्न गाह्रो हुन्छ ।’
पत्रकार सम्मेलनमा प्रहरी निरिक्षक तुम्वाहाम्फेले वलात्कार घटना नियन्त्रणका लागि आफनो टोलीले विभिन्न सचेतना कार्यक्रमका साथै जनप्रतिनिधिहरुसँग समेत समन्वय गरी वलात्कार घटना न्यूनिकरणका लागि काम गर्ने वताईन् ।







