सप्तरी – सप्तरीको राजविराजमा विगत १० दिन देखि चलिरहेको ‘२ नम्बर प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव’ आज सम्पन्न भएको छ ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले मेला तथा महोत्सवको औपचारिक रुपमा समापन गर्नु भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले बेला बेलामा यस्तो किसिमको मेला आयोजना हुनुपर्ने बताए । उनले यस्तो मेलाको आयोजनाबाट स्थानिय उत्पादनको प्रचार प्रसार हुनुका साथै व्यापार प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ मुल नाराकासाथ सप्तरी उद्योग वाणिज्य संघले गत फाल्गुन २८ गतेदेखि आयोजना गरेको महोत्सवमा १ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन् ।
उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानिय बस्तु तथा उत्पादनको प्रर्वद्धनका लागि आयोजना गरिएको महोत्सवमा ८० हजार आगन्तुकले अवलोकन गरेको उनले बताए ।
प्रधानका अनुसार महोत्सवमा ३ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको भएपनि ढिलो गरी अनुमति पाएकोले पूर्व तयारी गर्न नसक्नु र प्रचार प्रसारमा कमी भएका कारण लक्ष्य अनुसारको कारोवार हुन सकेन ।
राजविराजको राजरंगशालामा आयोजना गरिएको सो मेलामा १५० वटा स्टल राखिएकोे थियो भने झुला, मौतका कुँवा लगायतका मनोरञ्चनका साधनको पनि व्यवस्था मिलाईएको थियो ।







