काठमाडौं– भारतमा दशकौंदेखि विवादमा रहँदै आएको अयोध्याको राम जन्मभुमीको विवादमा त्यहाँको सर्वोच्च अदालतले शनिवार फैसला सुनाउने भएको छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधिश रञ्जन गोगोईले आफ्नो अवकाश हुनु अघी यस मुद्धामा फैसा दिने तयारी गरेपछि यस विषयमा नियमित रुपमा ४० दिनसम्म वहश भएको थियो। रामजन्मभुमी पक्षधर र वावरी मस्जिद पक्षधरले यस बिषयमा आआफ्नो पक्षबाट तर्क र तथ्य पेश गरेका थिए।
सबै तथ्य र तर्कलाई सुनेको सर्वोच्च अदालतले प्रधानन्यायाधिश गोगोईको अवकाश हुनुअघी नोभेम्बर १७ तारिखमा अन्तिम फैसला सुनाउने मिति तोकिएको थियो। तर शुक्रवार राती ९ वजे फैसला शनिवार विहान साँढे १० वजे सुनाउने जानकारी दिइएको थियो। सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोगोई सहितका ५ न्यायाधिशको संवैधानिक वेञ्चले यो मुद्धामा फैसला सुनाउनेछ।
फैसलाको मिति र समयको जानकारी दिनुअघी सर्वोच्च अदालतले उत्तर प्रदेशका सुरक्षा निकाय र प्रसासनका अधिकारीहरुलाई वोलाएर अयोध्या लगायत उत्तर प्रदेशको शान्ति सुरक्षा लगायतका विषयमा जानकारी लिएको थियो।
फैसलाको जानकारी आए लगत्तै भारत सरकारले देशभर संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने कतिपय प्रदेश र क्षेत्रमा धारा १४४ लगाएको छ।
उत्तर प्रदेश, दिल्ली, मध्यप्रदेश, कर्नाटक, गुजरात, राजस्थान लगायतका कतिपय राज्यहरुमा विद्यालय तथा कलेजहरु बन्द गरिएको छ। देशभर सुरक्षाकर्मीहरुलाई अलर्ट राखिएको छ। अयोध्यामा सुरक्षाकर्मीलाई हाई एलर्टमा राखिएको छ।
अयोध्यामा ४ हजार अर्धसैनिक वल उतारिएको छ। सुरक्षाका सबै निकायलाई अयोध्यामा उतारिएको छ। अन्य संवेदनशील क्षेत्रमा पनि सुरक्षा निकायलाई सतर्क राखिएको छ। अयोध्यामा ड्रोन क्यामेराबाट गल्ली गल्लीको अनुगमन गरिएको छ।
शान्ति सुरक्षा विगार्न सक्ने कतिपय शंकास्पद व्यक्तिहरुलाई प्रहरीले हिरासतमा लिइसकेको छ। प्रहरीले सामाजिक सञ्जाललाई पनि निगरानी गरिरहेको छ। सामाजिक सञ्जालबाट शान्ति सुरक्षामा खलल पुर्याउने खालको गतिविधी हुने अवस्था देखिए इन्टरनेट बन्द गर्नेसम्मको तयारीमा प्रसासन रहेको छ। सामाजिक सद्भाव भड्काउन सक्ने आशंकामा सोसल मिडियाको ६७३ एकाउण्ट बन्द गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फैसला जे जस्तो आएपनि देशमा शान्ति कायम गर्न सबै नागरिकलाई अपिल गरेका छन्। मोदीले फैसलालाई कसैको हार वा जीतको रुपमा नलिइ फैसलालाई सम्मान गर्न आग्रह गरेका छन्।
स्वयंसेवक दल आर एसएसका प्रमुख मोहन भार्वगले पनि सबैलाई शान्ति कायम गर्न आग्रह गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि प्रदेशका सबै नागरिकलाई संयम कायम गरि फैसलाको सम्मान गर्न आग्रह गरेका छन्।
योगी रामदेवले पनि मर्यादा पुरुषोत्तम रामको सम्मान गर्दै सबैलाई मर्यादा कायम गर्न आग्रह गरेका छन्। उनले देश संविधानले चल्ने उल्लेख गर्दै सबैलाई अदालतको फैसलाको सम्मानमा गर्न आग्रह गरेका छन्। हिन्दु तथा मुस्लिम धार्मिक गुरुहरुले शान्ति सुव्यवस्था कायम गर्न अपिल गरेका छन्।
फैसला आउन केहि समय बाँकी रहँदा प्रहरीको तैनाथी सर्वोच्च अदालतमा व्यापक गरिएको छ। अदालत परिसर तथा वरिपरि सर्वसाधारणलाई जान रोक लगाउने गरि धारा १४४ लगाइएको छ।
राम मन्दिरको फैसला भारतको अदालतले फैसला सुनाए पनि यस बारेमा विश्वभरका हिन्दु धर्मावलम्वीहरुले पनि यसलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन्।







