काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गर्दै ‘जेनजी मुभमेन्ट’ प्रहरी महानिरीक्षकसमक्ष उजुरी दर्ता गरेको छ।
प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको जनाइएको छ।
निवेदनमा जेनजी मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मुख्य चार बुँदे माग राखेको छ।
जसमा आफ्नै विरुद्धको अनुसन्धान प्रक्रियामा पदमा बहाल रहनु स्वार्थको द्वन्द्व र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भन्दै गृहमन्त्री पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने र न्याय सम्पादनमा अवरोध पुग्न सक्ने खतरा रहेको जनाएको छ ।
उजुरीमा जेनजी आन्दोलनका क्रममा पानी वितरणको नाममा स्वयंसेवकको भूमिका लिई आन्दोलनलाई प्रभाव पार्ने प्रयास भएको, आन्दोलनलाई हिंसात्मक बनाउने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको निवेदनमा उल्लेख छ।
त्यसैगरी आन्दोलनको दुरुपयोगमार्फत आर्थिक लाभ लिएको, बिचौलिया तथा दलालहरूसँग मिलेमतो गरेको तथा ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार भएको दाबीसमेत उजुरीमा समावेश छ।
उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको प्रवक्ता शाहले बताए।
प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।







