जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ५ मा आगोमा जलेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका वडा नम्वर ५ का श्रवण यादवका ७ महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । हिजो मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको थियो । आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा आज (बुधबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।







