
काठमाडौँ । इङ्गल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार साँझ भएको दोस्रो सेमिफाइनलमा आयोजक अष्ट्रेलियालाई ३–१ ले हराउँदै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।
३६ औँ मिनेटमा इला टोनीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाइन् । ६३ औँ मिनेटमा साम केरले गोल गर्दै अष्ट्रेलियालाई बराबरीमा ल्याइन् । तर ७१ औँ मिनेटमा लाउरेन हेम्प र ८६ औँ मिनेटमा एलेसिया रुस्सोले गोल गर्दै इङ्गल्याण्डलाई फाइनलमा पुर्याइन् । अब उपाधिका लागि इङ्गल्याण्डले स्पेनसँग खेल्नेछ ।
स्वीडेनमाथि सनसनीपूर्ण जित हासिल गर्दै स्पेन पहिलो पटक विश्वकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । मंगलबार न्यूजिल्याण्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
शुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौँ संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । यसपालि स्पेनलाई फाइनलमा पुर्याउने क्रममा साल्मा पोरेलु र ओल्गा कार्मोनाले १–१ गोल गरिन् ।
उता स्वीडेनकी ब्लोभिस्टले १ गोल गरेकी थिइन् । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा विश्वकप भइरहेको हो । न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । फाइनल खेल आइतबार हुनेछ ।