काठमाडौं ।  भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स)ले उच्च अंकको रेकर्ड बनाएको छ । मंगलबार कारोबार बन्द हुँदा सेन्सेक्स ६९,२९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ४३१ अंकले बढी हो ।

विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्स न्यूनतम विन्दु ५७,०८४ अंकसम्म झरेको थियो । यो अंक ९ महिनाअघि मार्चमा तय भएको थियो ।
त्यस्तै निफ्टी–५० अघिल्लो दिनको तुलनामा १६८ अंक बढेर २०८५५ अंकमा पुगेको छ ।
ठूला पुँजीका ५० कम्पनीको सूचक जनाउने निफ्टी–५० लाई भारतमा सबैभन्दा महत्वका साथ हेरिन्छ । यो सूचकको ५२ हप्ताको न्यूनतम अंक ९ महिनाअघि (गत मार्चमा) १६,८२८ अंकसम्म झरेको थियो । मंगलबार फाइनान्सियल क्षेत्र सबैभन्दा बढी ५.३५ प्रतिशतको वृद्धि देखिएको छ । मुख्यतः अमेरिकी लगानी संस्था डेभलपमेन्ट फाइनान्स कर्पोरेसनले गौतम अडानी ग्रुपलाई सफाइ दिएसँगै सो ग्रुप अन्तर्गतका कम्पनीहरुको मूल्यमा उच्च वृद्धि हुन गई सेन्सेक्स वृद्धिमा बल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि ११ महिनाअघि जनवरीमा अमेरिकी रिसर्च कम्पनी हिंडनबर्गले अडानी ग्रुपका कम्पनीहरुले सुशासन उल्लंघन गरेको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको थियो, जसका कारण सो ग्रुपअन्तर्गतका कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको थियो । यतिबेला लगानीकर्ता गौतम अडानी पनि ब्लुमवर्ग अर्बपति सूचीमा १६ औं स्थानमा पर्न सफल भएका छन् । उनको सम्पत्ति ७०.२ अर्ब डलर पुगेको छ ।
भारतको सेयर बजारमा चुनावको रौनकले समेत असर पारेको जानकारहरुको भनाइ छ । उनीहरुका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढका प्रमुख राज्यको चुनावमा भारतीय जनता पार्टीको जितले पनि अडानी ग्रुपका कम्पनीको मूल्य बढाएको हो ।अर्कोतर्फ भारतीय अर्थतन्त्र सबल अवस्थामा रहनुले सेयर बजारलाई सकारात्मक प्रभाव परेको भारतको इन्भेस्टमेन्ट एडभाइजरी कम्पनी लिक्वायडका सहसंस्थापक तथा प्रमुख लगानी अधिकृत कुणाल अम्बास्ताको भनाइ छ । भारतको आर्थिक अवस्था अन्य मुलुकको तुलनामा सकारात्मक रहेकाले लगानीको प्रतिफल अपेक्षाकृत रहेको उनले बताए । उनले जीन्यूजलाई भनेका छन्, ‘भारतको आर्थिक सम्भावना अपेक्षाकृत सकारात्मक छ, बलियो कर्पोरेट आयसँगै करिब ६ प्रतिशत आर्थिक वृद्धिको निरन्तर पूर्वानुमानले बजारलाई समर्थन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको