ललिता साह
राजविराज । सप्तरी एक सामुदायिक विद्यालयका सामाजिक लेखापरीक्षण गर्न स्थानीय अभिभावकहरुले माग गरेका छ्न ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ कट्टीमा रहेका श्री लक्ष्मी बल्लब नरसिंह माध्यमिक विद्यालय तथा लक्ष्मी वल्लभ नरसिंह बहुमुखी क्याम्पसले विगत ४ वर्षका हर हिसाब तथा अडिट रिपोर्ट सार्वजनिक नगेपछी स्थानीयहरु लेखापरीक्षण गर्न माग गरेको हो ।
आयव्यय लेखा परीक्षण लगायतको कुनै पनि प्रकारको हर हिसाब सार्वजनिक नगरेको स्थानीय अभिभावकहरू आरोप छ ।
विगत एक वर्षदेखि विद्यालय व्यवस्थापन समिति नरहेकोले समिति गठन गर्नको लागि बिहिबार विद्यालय प्राङ्गणमा गरिएको भेलामा अभिभावकहरूले विद्यालय प्रशासनसँग सम्पूर्ण आय व्यय सार्वजनिक गर्न भन्दै १३ बुन्दे लिखित माग राखेका छन्।
भेलामा बोल्दै स्थानीय युवा जिवछ यादवले -प्रधानाध्यापक विपिन झा र मदन देव , संतोष यादव सहित उनका ठेकेदार टिमले विद्यालयको शैक्षिक तथा आर्थिक हिना बिना गरेर तहस नहस गरेका बताए ।
नेपालकै पहिलो दरबार हाइस्कुल पश्चात २००६ सालमै स्थापना भएको विद्यालय शैक्षिक गुणस्तरीयता र संरचनाको हिसाबले अब्बल मानिन्छ ।
एक दशक यता विद्यालयको शैक्षिक गतिविधि तहसनहस भएका छन् ।
पाँच वर्षअघिसम्म दुई हजार माथि विद्यार्थी संख्या रहेको विद्यालयमा यो वर्ष विद्यार्थी संख्या १२ सयमा झरेको छ । विद्यालयमा पढाइ नभएर अभिभावकहरूले आफ्ना विद्यार्थीहरुलाई अन्य विद्यालयमा सार्नुपर्ने बाध्यता रहेको स्थानीय राम प्रसाद यादव बताउँछन्।
भेलामा प्रश्न उठाउँदै अभिभावकहरूले वर्तमान प्रशासन परिवर्तन गरेर मात्रै व्यवस्थापन समितिको छनौट गर्न माग गरेका छन ।
विद्यालय स्रोतका अनुसार एक महिनाभित्र विद्यालय व्यवस्थापन समिति गठन गरे मात्रै गाउँपालिकाबाट भेटेनरी अस्पताल लगायत अन्य बजेट विद्यालयमा लगानी गर्ने अन्यथा नगर्ने तिलाठीको लागि गाउँपालिकाको अध्यक्ष अरुण कुमार मण्डलले मौखिक अल्टिमेटम दिएको छ।
यस विद्यालयमा २०६६ सालदेखि पठनपाठन हुँदै आएको तीन वर्षे बिएड निजी हो तरतर विद्यार्थीको पठनपाठन र सर्टिफिकेटमा श्री लक्ष्मी बल्लभ नरसिंह बहुमुखी क्याम्पस लेखेर सर्टिफिकेट दिने गरेका छन् । बिएड पढाइका प्रयोजनमा भवनदेखि सम्पूर्ण खर्च विद्यालयकै सम्पत्ति प्रयोग हुँदै आएको छ।
त्यसको पनि कुनै हर हिसाब विद्यालयलाई दिएको छैन।
विद्यालयमा रुटिन अनुसारको विषय छैन ।तर सोही विषयको नाममा शिक्षक नियुक्त छन् । तलब सँगसँगै केही शिक्षकलाई मात्रै चार प्रकारको भत्ता खुवाउदै प्रधानाध्यापकले शिक्षकहरूबीच पनि पक्षपात गर्दै आएको विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सामाजिक अभियन्ता विनय प्रताप सिंहले बताए । उनले भने,”भेटेनरी तर्फ वर्षको १५ लाख रकम आउँछ तर कुनै काम भएको छैन । ९४ हजार खर्च भएको दिवा खाजामा ३ लाख २१ हजार ५ सय निकासा दिएको देखिन्छ।
कक्षा १२ को विद्यार्थीहरूको शैक्षिक भ्रमण बापत बर्सेनी २ लाख आउँछन् तर २०७७ देखि ८० सालसम्म कुनै पनि विद्यार्थीलाई भ्रमण गराइएको छैन भने तीन वर्षको उक्त ६ लाख रुपैयाँको समेत कुनै हिसाब किताब छैन ।
यसरी विभिन्न शीर्षकमा विधालयले चार वर्षको अवधिमा लगभग ४ करोड बराबर रकमको भ्रष्टाचार गरेको अभियन्ता सिंहले बताए ।
सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क अनिवार्य शिक्षा लागू भएका हुन् । तर यो विधालयमा २०८० को विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा १९१ विद्यार्थी रहेका छन् । प्रत्येक विद्यार्थीसँग भर्ना शुल्क पाँच हजार विज्ञान विषय पढ्नेसँग थप २५ हजार र अर्थशास्त्र पढ्नेसँग १७ हजार र शिक्षा पढ्नेसँग १२ हजार भर्ना शुल्क लिने गरेको छ । यो विद्यालयमा अवैधानिक तरिकाले वर्षकोभर्ना शुल्क मात्रै २० देखि २५ लाख उठाउँदै आएका छन्। विद्यालयको ३० बिघा भन्दा बढी आफ्नै जग्गा ‘ दुईवटा पोखरी खेलमैदान लगायत विद्यालयको आफ्नै सम्पत्ति रहे पनि गरिब नागरिकको विद्यार्थीसँग विद्यालयले चर्को शुल्क असुली गर्दै आएको दाता परिवारका सदस्य अरुण सिंहले बताए ।
२०७१ देखि यता विद्यालय व्यवस्थापन समिति थिएन । तीन वर्ष अघि तत्कालीन गाउँपालिका अध्यक्ष सतिष सिंहले अभय सिंहलाई विना कुनै प्रकृया विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइदिएपछि असन्तुष्ट अभिभावकद्वारा मुद्दा दायर गरिएको थियो ।
अदालतमा मुद्दा चल्दै गर्दा उक्त समितिको कार्य अवधि सकेको एक वर्ष भइसक्यो। त्यसयता विधालयमा व्यवस्थापन समिति छैन ।
विद्यालयको बेथिती तथा आर्थिक अनियमितताको आरोपमा विद्यालयका प्रधानाध्यापक विपिन झा तत्कालै केही बोल्न चाहेन । त्यस्तै क्याम्पसतर्फका इन्चार्जको रूपमा रहेका मदन देवले पनि यस विषयमा पछि कुरा गर्ने बताएका छन्। विद्यालयमा विगत दुई वर्ष यता व्यापक आर्थिक अनियमितताले विधालय वर्वाद बनाएको मैले पनि जानकारी पाएको छु। जसले गर्दा पढाई पनि तहसनहस भएको छ । यसर्थ विद्यालय प्रशासनलाई यथाशीघ्र विद्यालय व्यवस्थापन समिति र आयव्यय विवरण सार्वजनिक गर्न निर्देशन दिइसकेको अध्यक्ष अरुण मण्डलले बताए ।







