गोलाप्रथाबाट विज्ञ र प्रश्नपत्र छनोट गरि लिइयो परीक्षा
विनय कर्ण
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाले शिक्षक छनोट गर्नका लागि नयाँ अभ्यासको थालनी गरेको छ ।
गाउँपालिका स्थित विद्यालयहरुमा रिक्त रहेको दरवन्दीमा शिक्षक न्युक्ति गर्न नौलो अभ्यासको थालनी गरेको हो।
शिक्षक नियुक्तिका लागी विज्ञापन गरेकै विद्यालयमा विषयविज्ञ वोलाएर विद्यालय व्यवस्थाप समिति, अभिभावक, विद्यार्थी, परीक्षार्थी, गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारी र स्थानियहरुको रोहवरमा त्यही प्रश्नपत्र तयार गर्न लगाई परीक्षा लिने अभ्यास शुरु गरिएको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
उनले निष्पक्ष र पारदर्शी विधि अपनाएर योग्य शिक्षक छनौट गर्ने लक्ष्य अनुरुप काम अगाडी बढाईको वताए । ‘निष्पक्ष र पारदर्शी ढंगले शिक्षक छनोट नहुने गरेको व्यापक चर्चा हुने भएको हुँदा हामीले गाउँपालिका स्तरवाटै निर्णय गरी गोलाप्रथाबाट विषयविज्ञ र प्रश्नपत्र छनोट गरी परीक्षा लिएर योग्य शिक्षक छनोट गर्ने प्रयास थालेको छु’ अध्यक्ष यादवले भने।
गुणस्तरीय शिक्षाको लागि योग्य शिक्षक आवश्यक भएकाले पालिका भित्रको सबै विद्यालयका प्रधानाध्यापक र सबै वडाका वडाअध्यक्ष सहितको उपस्थितमा यस्तो प्रक्रियाबाट शिक्षक नियुक्ति गर्ने निर्णय भएको उनले बताए ।
यसैक्रममा शनिवार रुपनी गाउँपालिका वडा नम्बर २ स्थित जेसिज आधारभूत विद्यालय पौवामा शिक्षक छनौट गर्न परीक्षा लिइएको छ ।
शिक्षण सिकाई अनुदान कोटा संख्या १ (एक) माआधारभूत तह निमावि अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न गाउँपालिकाले अपनाएको नौलो अभ्यास अन्तर्गत परीक्षा लिईएको हो।
उक्त पदका लागि ६ जनाले आवेदन दिएपनि शनिबार सम्पन्न परीक्षामा ४ जना मात्र सहभागी भएका छन् ।
सहभागी हुनेहरूमा राजविराज नगरपालिका वार्ड नम्बर ९ कि मुन्नी मेहता, रुपनी गाउँपालिका वडा नम्बर ३ का अन्तकुमार यादव, सोही गाउँपालिका वडा नम्बर २ कि गायत्री यादव र धनगढी नगरपालिका ४ सिराहाका लालुप्रसाद सिंह परीक्षामा सहभागी भएको जेसिस आधारभूत विद्यालय पौंवाका प्रधानाध्यापक राजकुमार सुनरैतले जानकारी दिए।
यसरी परीक्षा लिएर शिक्षक छनोट गर्ने प्रक्रिया आफूहरुको लागि पनि नौलो अनुभव भएको विषय विज्ञद्वय राजदेव यादव र अरहुल कुमारी साहले बताए ।
यस्तो छ प्रक्रिया
रुपनी गाउँपालिका अन्तर्गत रहेको विद्यालयहरुमा रिक्त दरवन्दीमा शिक्षक नियुक्तिका लागि विद्यालयले आवेदनआह्वान गरेपछि गाउँपालिकाले सम्बन्धित विषयका विज्ञहरुको नामावली तयारपारी गोलाप्रथाबाट दुईजना विषयविज्ञ छनोट गर्छन्।
त्यसपछि विज्ञहरूलाई बोलाएर स्थानीय, विद्यालय व्यवस्थापन समिति, गाउँपालिकाका अध्यक्षको रोहबरमा दुईजना विज्ञलाई छुट्टाछुट्टै शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार गर्न लगाईन्छ।
प्रश्नपत्र तयार भइसकेपछि त्यहाँ उपस्थित अबोध बालकले गोला प्रथाद्वारा प्रश्नपत्र छनोट गर्छन् त्यसपछि सोही प्रश्नपत्र परीक्षार्थीहरुलाई दिएर परीक्षा लिएपछि विद्यालयमै कपी जाँच गरी नतिजा प्रकाशन गर्ने गरिएको छ ।
यसअघि वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलमा पनि यस्तै प्रक्रिया अपनाएर परीक्षा लिंदा कुनैपनि उम्मेदवार उत्तीर्ण हुन नसेकेको कारण शिक्षक भर्नाको विज्ञापन नै रद्द गरि विद्यालयले पुन: दरखास्त आह्वान गरेको थियो ।

आएनन् नतिजा
पहिलो चरणको सामान्य बस्तुगत परीक्षामा लालु, मुन्नी र गायत्री सहित तीनजना उत्तीर्ण भई दोश्रो चरणको विषयगत परीक्षामा सहभागि भए ।
परीक्षाको दोश्रो चरणपछि उत्तीर्ण पुस्तिका जाँच गरी अन्तर्वार्तालाई अगाडी बढाउने तयारी हुँदै थियो । सोही समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक सिकन्दर मंडल परीक्षा स्थलबाट एकाएक बाहिर गई सम्पर्क विहिन भएकोले अन्तिम नतिजा आउन नसकेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
परीक्षा लिएको उत्तरपुस्तिका शिलबन्दी गरी ईलाका प्रहरी कार्यालय रुपनीको जिम्मा लगाईएको छ । परीक्षा समिति संयोजक मंडल संग समन्वय गरी छिट्टै परीक्षाफल प्रकाशन गरिने अध्यक्ष यादवले बताए ।







