निष्पक्ष शिक्षक छनोट गर्न कठिन : गाउँपालिका अध्यक्ष यादव
विनय कर्ण
राजविराज । रुपनी गाउँपालिका वडा नम्बर २ स्थित जेसिज आधारभूत विद्यालय पौवाँमा शिक्षक छनौटका लागि लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको छ ।
गत माघ २७ मा शिक्षण सिकाई अनुदान कोटा संख्या १ (एक) आधारभूत तह निमावि अंग्रेजी विषयको शिक्षक छनोट गर्न लिईएको परीक्षाको अन्तिम नतिजा शनिवार प्रकाशन गरिएको हो ।
गाउँपालिकाले निष्पक्ष रुपमा शिक्षक छान्न थालेको नौलो अभ्यास अन्तर्गत लिखित परीक्षा लिइएको तीन सातापछि अनेक बाधा र अवरोधका बाबजुद शिक्षक छनोट समितिले अन्तिम नजिता प्रकाशन गरेको छ ।
शिक्षक छनोट समितिले राजविराज नगरपालिका वार्ड नम्बर ९ कि मुन्नी मेहता लाई नियुक्तिका लागि सिफारिस गरेको जेसिज आधारभूत विद्यालय पौवाँका प्रधानाध्यापक राजकुमार सुनरैतले जानकारी दिए ।
उक्त पदका लागि ६ जनाले आवेदन दिएको मध्ये लिखित परीक्षामा राजविराज नगरपालिका वार्ड नम्बर ९ कि मुन्नी मेहता, रुपनी गाउँपालिका वडा नम्बर ३ का अन्तकुमार यादव, सोही गाउँपालिका वडा नम्बर २ कि गायत्री यादव र धनगढी नगरपालिका ४ सिराहाका लालुप्रसाद सिंह सहित ४ जनाले पहिलो चरणको लिखित परीक्षामा सहभागि भएका थिए ।
पहिलो चरणको लिखित परीक्षा उत्तिर्ण गरेका तीन जना मुन्नी, गायत्री र लालु दोश्रो चरणको लिखित परीक्षामा समेत उत्तिर्ण भएपछि अन्तरवार्तामा उपस्थित मुन्नी र लालु मध्ये सबै चरणको परीक्षा मुल्यांकनबाट सर्वाधिक अंक ल्याउने मुन्नी मेहतालाई नियुक्तिका लागि सिफारिश गरिएकोे शिक्षक छनोट समितिले जनाएको छ ।
शिक्षक छनोट समितिका अनुसार शनिवारको अन्तरवर्तामा परीक्षार्थी गायत्री यादव भने उपस्थित भईनन् ।

यसरी निकालियो नतिजा

गत माघ २७ मा पहिलो चरणको सामान्य बस्तुगत परीक्षामा लालु, मुन्नी र गायत्री सहित तीनजना उत्तीर्ण भई दोश्रो चरणको विषयगत परीक्षामा सहभागि भए ।
परीक्षाको दोश्रो चरणपछि उत्तीर्ण पुस्तिका जाँच गरी अन्तर्वार्तालाई अगाडी बढाउने तयारी हुँदै थियो । सोही समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक सिकन्दर मंडल परीक्षा स्थलबाट एकाएक बाहिर गई सम्पर्क विहिन भएपछि अन्तिम नतिजा प्रकाशन भएनन् ।
परीक्षा लिएको उत्तरपुस्तिका शिलबन्दी गरी ईलाका प्रहरी कार्यालय रुपनीको जिम्मा लगाएर परीक्षा समिति संयोजक मंडल संग समन्वय गरी छिट्टै परीक्षाफल प्रकाशन गर्न गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, सोही वडाका वडाध्यक्ष सरोजक कुमार यादव र विद्यालयका प्रधनाध्यापक राजकुमार सुनरैतलाई जिम्मेवारी दिईएको थियो ।
परीक्षा लिएको दुई साता वितिसक्दा पनि परीक्षा समिति संयोजक मंडल नतिजा प्रकाशन गर्नमा कुनै चासो नलिएपछि विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका वडाध्यक्ष सरोज यादवको अध्यक्षतामा बाँकी प्रक्रिया पुरा गरेर अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

सफल भयो नौलो अभ्यास

रुपनी गाउँपालिकाले शिक्षक छनोट गर्नका लागि थालेको नौलो अभ्यास सफल भएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताएका छन् ।
निष्पक्ष गर्न कठिन भएपनि गाउँपालिकाले शुरु गरेको नौलो अभ्यास अन्तर्गत वडा नम्बर २ स्थित जेसिज आधारभूत विद्यालय पौंवाँमा शिक्षक छनोट गर्न सफल भएको उनले बताए ।
‘निष्पक्ष र पारदर्शी ढंगले शिक्षक छनोट नहुने गरेको व्यापक चर्चा हुने भएको हुँदा हामीले गाउँपालिका स्तरवाटै निर्णय गरी गोलाप्रथाबाट विषयविज्ञ र प्रश्नपत्र छनोट गरी परीक्षा लिएर योग्य शिक्षक छनोट गर्ने प्रयास थालेको छु’ अध्यक्ष यादवले भने ।
गुणस्तरीय शिक्षाको लागि योग्य शिक्षक आवश्यक भएकाले पालिका भित्रको सबै विद्यालयका प्रधानाध्यापक र सबै वडाका वडाअध्यक्ष सहितको उपस्थितमा यस्तो प्रक्रियाबाट शिक्षक नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।

गोलाप्रथाबाट विज्ञ र प्रश्नपत्र छनोट

रुपनी गाउँपालिका अन्तर्गत रहेको विद्यालयहरुमा रिक्त दरवन्दीमा शिक्षक नियुक्तिका लागि विद्यालयले आवेदनआह्वान गरेपछि गाउँपालिकाले सम्बन्धित विषयका विज्ञहरुको नामावली तयारपारी गोलाप्रथाबाट दुईजना विषयविज्ञ छनोट गर्छन् ।
त्यसपछि विज्ञहरूलाई बोलाएर स्थानीय, विद्यालय व्यवस्थापन समिति, गाउँपालिकाका अध्यक्षको रोहबरमा दुईजना विज्ञलाई छुट्टाछुट्टै शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार गर्न लगाईन्छ ।
प्रश्नपत्र तयार भइसकेपछि त्यहाँ उपस्थित अबोध बालकले गोला प्रथाद्वारा प्रश्नपत्र छनोट गर्छन् त्यसपछि सोही प्रश्नपत्र परीक्षार्थीहरुलाई दिएर परीक्षा लिएपछि विद्यालयमै कपी जाँच गरी नतिजा प्रकाशन गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको