विनय कर्ण
राजविराज ।  सप्तरीको रुपनी गाउँपालिकाले बुधवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले ५ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँसभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन, सिचाई र पुर्वाधार विकास जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।  गाउँपालिकाको प्रत्येक वडाका एक-एक वटा आधारभुत विद्यालयमा कक्षा १ देखी ३ सम्म अंग्रेजी माध्यमको पढाई र त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्था गर्नुका साथै प्रत्येक वडाबाट विपन्न समुदायका पाँच-पाँच जना बालबालिकाको छनौट गरि अभिभावक्त्व ग्रहण गरेर उनीहरुको पढाईमा लाग्ने सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको  छ ।
यस्तै कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुको निशुल्क परीक्षाको व्यवस्था गरिने, कक्षा कोठामा शिक्षक र विद्यार्थीलाई मोवाइल प्रयोग निषेध गरिने र पालिका भित्र १८ वर्ष मूनीका बालबालिकालाई सूर्तीजन्य पदार्थ र मादक पदार्थ बिक्रीमा समेत रोक लगाइने नीति तथा कार्यक्रम मार्फत जनाईएको हो ।
गाउँपालिका भित्र अतिक्रमित सम्पूर्ण सार्वजनिक जग्गा खाली गराउँदै लगिने, नदी कटान रोक्न बायोइन्जिनियरिङ प्रणालीको अवलम्वन, पालिकाको सबै वडामा फ्रि वाइफाई सेवा तथा किसानलाई कृषि मिटर दिने व्यवस्थालाई निरन्तरता लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित गाउँसभामा प्रमुख अतिथि मधेश प्रदेशका सांसद एवं पूर्व शिक्षा, संस्कृती मन्त्री महेश प्रसाद यादवले स्थानीय सरकार संचालन ऐनले तोकेको समयसीमा भित्रै गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएकोमा प्रशंसा गरे ।
उनले यसको प्रभावकारीताका साथ कार्यान्वयन हुनु पर्नेमा जोड दिदै रुपनी गाउँपालिकालाई प्रदेश सरकारबाट आवश्यक पर्ने सहयोगका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारिता क्षेत्रको विकासका लागि गाँउपालिकाले आवश्यक बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको