राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीबाट प्रभावित २ सय २२ परिवारलाई शुक्रबार राहत उपलब्ध गराईएको छ।
नगरपालिका स्थित वडा नं. ९ कार्यालयमा आयोजित “कोशीबाढी प्रभावित घरधुरीका लागि नगद हस्तान्तरण कार्यक्रम”मा पीडितहरुलाइ राहत उपलब्ध गराइएको हो ।
विश्व खाद्य कार्यक्रमको सहयोग, सेवक नेपालको आयोजना तथा ९ नं. वडा कार्यालयको समनवयमा उक्त वडाका २ सय २२ परिवारलाई जनही १५ हजारका दरले नगद सहयोग उपलब्ध गराइएको आयोजक संस्थाले जनाएको छ ।
पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत उक्त पालिकाका बाढी प्रभावित घरधुरीका करिब १ हजार ३ सय भन्दा बढी बाढी पीडितले हालसम्म नगद सहयोग प्राप्त गरिसकेको सेवक नेपाल संस्थाका कार्यक्रम प्रमुख मुरारी शुक्लाले जानकारी दिए।
उनले कोशी बाढीबाट प्रभावित व्यक्तिको पहिचान सम्बन्धित वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि राखेर निष्पक्ष तरीकाबाट छनौट गरिएको दावी गरे ।
वडाअध्यक्ष हरिचन्द्र बर्माले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पश्चात् सुविधा पाउने पीडितको पहिचान र सूची तयार गरि नगद राहत वितरण गरिएको बताए ।
यता शुक्रबारै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका बाढी पीडितहरुले हालसम्म राहत वितरण भएका र अब पाउन बाँकी रहेकाहरुको नामावली सार्वजनिक गर्न, बास्तविक बाढी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले राहत वितरण प्रक्रियालाई व्यवस्थित बनाउन तथा यसअघि वितरण गरिएको प्रक्रियाको छानबिन हुनु पर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost