राजविराज । पटक–पटक नियम, कानुन विपरित काम गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले निर्वचन आचारसंहितासँग पनि खेल्न खोजेका छन् ।
नगरपालिकामा स्थानीय तहको उप निर्वाचन हुँदैछ । वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि भइरहेको निर्वाचनका निम्ति २ मंसिरदेखि नै यो पालिकामा आचारसंहिता लागू भइसकेको छ । तर, प्रमुख मलाहले त्यसलाई वेवास्ता गर्दै बिज्ञापन आह्वान गरेका छन् ।
आचारसंहिता लागू भएकै मतिमा यो नगरपालिकामा रोजगार संयोजक (अधिकृत स्तर छैठौं) र रोजगार सहायक (सहायक स्तर पाँचौं) को विज्ञापन आह्वान गरेको पाइएको छ ।
२२ चैत २०८० मा बिभिन्न पदका लागि गरिएको पदपूर्ती सम्बन्धी सूचना अनुसार र २१ कात्तिक २०८१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार रद्द गरी विज्ञापनहरुको पुनः विज्ञापन गर्ने निर्णय भएकाले यसअघि गरिएको विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको विज्ञापनमा जनाइएको छ ।
‘यसअघि विज्ञापनमा दरखास्त फारम पेश गरेका उम्मेदबारहरुलाई पनि सामेल गराई थप दरखास्त फारम संकलन गर्नका लागि पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ’ विज्ञापनमा भनिएको छ, ‘साथै माग गरिएका विवरणहरु र राजस्व तिरेको रसीदसहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।’
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा बिज्ञापन आह्वान गर्नु आचारसंहिता विपरित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशी बताउँछन् ।
आचारसंहिता उल्लंघन गरेको पाइएको जानकारी गराउँदा नगरपालिकाले तत्कालै बिज्ञापन स्थगित गरेको उनले बताए ।
जोशीले आचारसंहिताको पालना गर्नु सबैको कर्तव्य भएको बताए ।

विज्ञापनमा चलखेल : चैतदेखि लगातार प्रयास

यो नगरपालिकाले २२ चैत २०८० मा रोजगार संयोजक, रोजगार सहायक, लघु उद्यम सहजकर्ता र कृषि प्राविधिक पदमा करार सेवामा भर्नाका लागि १५ दिन भित्र आवश्यक कागजात सहित दरखास्त पेश गर्न भन्दै बिज्ञापन आह्वान गरेको थियो ।
बिज्ञापनको समय अनुसार दरखास्त फारम भर्ने मिति ६ बैशाख २०८१ मा समाप्त भएको थियो । यसपछि ६ जेठ २०८१ मा उम्मेदबारहरुको सर्ट लिस्ट समेत नगरपालिकाको वेभसाइट मार्फत नै सार्वजनिक गरिएको थियो ।
र, उनीहरुको लिखित परीक्षाका लागि १७ जेठदेखि १३ असारसम्मको मिति तोकिएको थियो ।
यो नामावली सार्वजनिक भए लगत्तै प्रमुख मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आर्थिक चलखेल गरेको आरोप लाग्दा १३ असारमा कार्यपालिकाको बैठकले ती सबै बिज्ञापन स्थगित गरेको थियो ।
सोही बिज्ञापनलाई आचारसंहिताको समेत ख्याल नगरी प्रमुख मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले पुनः आह्वान गरेका छन् ।
श्रोतका अनुसार यी दुबैले आर्थिक चलखेल गरी उम्मेदबार छनौट गरेका थिए । यो कुरा बाहिरिएपछि स्थगित गरेका थिए । त्यस बेला नाम सार्वजनिक भएका व्यक्तिका नजिकलाई छनौट गर्न यी दुबैले प्रयास गरिरहेको श्रोतको भनाई छ ।
अहिले यो नगरपालिकाको दुई वडामा उप निर्वाचन हुँदैछ । राजनीतिक दलका नेताहरु यो बीचमा निर्वाचनमा व्यस्त हुने भएको मौका छोपी प्रमुख मलाह र हाकिम यादवले बिज्ञापन निकालेर काम पूरा गर्न कसरत शुरु गरेका थिए । तर, निर्वाचन कार्यालयले पत्र पठाएपछि उनको खेल पुनः रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
11
0
0
2
1
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको