
राजविराज । सप्तरीमा संगठित अपराध मौलाउँदै जाँदा सुरक्षा अवस्था सुदृढ हुन नसको भन्दै सप्तरी युथ नेपालले बुधबार प्रजिअ भोला दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । अवैध लागुऔषध तस्करी र सुरक्षाकर्मीहरूको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै प्रजिअ दाहाल समक्ष ज्ञापनपत्र बुझाएको हो ।
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको यस घटनापछि प्रभावकारी अनुसन्धान, सुरक्षा सुधार तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।
‘हालै प्रमुख जिल्ला अधिकारी दाहालको पहलकदमीमा गरिएको अनुगमनका क्रममा राजविराज नजिकैको एक गोदामबाट २ हजार ४।सय १९ किलो गाँजा बरामद भएको थियो। साथै, लाखौँ रुपैयाँ बराबरको तयारी कपडा सुर्ती, प्लम्बिङ सामग्री तथा ट्रकमा लोड गरिएको १ सय ४२ कार्टुन स्याउ पनि नियन्त्रणमा लिइएको थियो।’ उक्त घटनाले जिल्लामा संगठित अपराध मौलाउँदै गएको सप्तरी युथ नेपालले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा ठहर गरेको छ ।
सुरक्षा संयन्त्रलाई सुधार गर्दै समाजलाई लागुऔषधको चपेटाबाट बचाउनका लागि प्रभावकारी नीति तथा योजनाहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने सप्तरी युथ नेपालले प्रजिअ दाहाललाई बुझाएको ज्ञापनपत्रमा जोड दिएको छ । माग सम्बोधनमा प्रशासनले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने सप्तरी युथ नेपालद्वारा बुझाइएको ज्ञापनपत्रमा चेतावनी समेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले ज्ञापन पत्र बुझ्दै यस घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।