राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी बुधन भन्ने जोगानन्द मण्डल आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रहेको प्रहरीले खुलासा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिवार सार्वजनिक गरेको सूचनामा उनी बारे यस्तो खुलासा गरिएको हो ।
लागुऔषध गाजा भण्डारण र तस्करीको तीन बर्ष पुरानो घट्नामा संलग्न रहेको आरोपमा असार २ गते पक्राउ परेका मण्डल माथि ज्यानमार्ने उद्योगदेखि हातहतियार खरखजाना सम्मका गरी थप ७ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
३५ बर्षीय मण्डल माथि गत आर्थिक बर्ष २०६५/०६६ देखि २०८०/०८१ सम्ममा सप्तरी जिल्ला अदालतबाट चलेको विभिन्न अपराधका थप ७ वटा मुद्दाबारे प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार मण्डल उपर २०६५/०६६ मा केही सार्वजनिक अपराध, २०६७/०६८ मा हातहतियार तथा औजार र २०६८/०६९ मा ज्यानमार्ने उद्योगमा क्रमशः इलाका प्रहरी कार्यालय कञ्चरपुर र जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेको छ ।
यस्तै मण्डललाई २०७१/०७२ मा सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दुई बर्ष कैद र १५ हजार जरिवाना २०७७/०७८ मा एक बर्ष ९ महिना कैद तथा २०८०/०८१ मा सोही मुद्दामा १० हजार जरिवाना र चारसय रुपैयाँ क्षतिपुर्ती भराउने अदालतले ठहर गरेको थियो ।
उनी माथि चलेको मुद्दा मध्ये केही सार्वजनिक अपराध, ज्यानमार्ने उद्योग, हातहतियार तथा औजार र हातहतियार खरखजाना लगायतका कसूरबारे अदालतमा न्याय सम्पादन कार्य प्रक्रियामै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०७९ पुष १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो गाँजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाँजा तस्करी प्रयोजनका लागि मंडलले नै लुकाई राखेको खुलेको प्रहरीको दावी छ ।
मण्डल सोमबार कोशी व्यारेज क्षेत्रबाट पक्राउ परेका थिए ।







