राजविराज । प्रचलित कानुनले जनप्रतिनिलाई कर्मचारी नियुक्ती र आर्थिक कारोवार गर्ने अधिकार नदिए पनि शम्भुनाथ नगरपालिकाका वडाअध्यक्षले कर्मचारी नियुक्त गरेको पाईएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ र प्रचलित कानुनले पनि कर्मचारीको खटन पटनको अधिकार प्रमुख प्रशासकीय अधिकृत लाई दिएपनि शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गानन्द भगतले अख्तियार दुरुपयोग गर्दै कर्मचारी नियुक्त गरेको पाईएको हो ।
नगरपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष भगतले नियम कानुनको धज्जी उडाउँदै दैनिक ज्यालादारीमा कार्यालय सहयोगी नियुक्त गरेको समझौतापत्र नै फेला परेको छ ।
शम्भुनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तर्फबाट २०८१ असोज ११ गते सोही नगरपालिका वडा नम्बर २ घर भएका महेन्द्र कुमार चौधरीसंग शर्त सहितको कार्य समझौता गर्दै वडाध्यक्ष भगतले कर्मचारी नियुक्ती गरेको फेला परेको हो ।
दैनिक ज्यालादारीमा काम गरे बापत दोस्रो पक्ष चौधरीले कार्यालयमा उपस्थित भई काम गरेको दिन मात्र दैनिक रुपमा रु. ६६८ का दरले प्रथम पक्षरले भुक्तानी गर्ने शर्तमा कर्मचारी नियुक्त गरेको समझौतापत्र नै सार्वजनिक भएको छ ।
“यो सम्झौताको अवधि २०८१ साल कार्तिक ०१ गते देखि २०८१ साल पौष मसान्त सम्म रहने छ । पारिश्रमिक भुक्तानी माग गर्दा सम्बन्धित शाखा प्रमुखबाट दैनिक हाजिरी प्रमाणित गराउनु पर्नेछ” गरिएको समझौतामा उल्लेख छ ।
सम्झौतामा उल्लेख नभएको विषयको हकमा शम्भुनाथ नगरपालिका नगर कार्यपालिकाको निर्णय बमोजिम तथा नेपाल सरकारको प्रचलित नियम कानून अनुसार हुनेछ भनी समझौतामा भनिएको छ ।







