राजविराज । कम खर्च गरेर भएपनि जनताको मत लिएर जनप्रतिनिधी बन्ने दौडमा हुन्छन् नेताहरु । जितेका जनप्रतिनिधीले समेत मनलाग्दी गर्न पाउँदैनन् । कानुन अनुसार हिंडनैपर्छ । तर, अहिले जनप्रतिनिधीले मनोमानी गर्न थालेका छन् । जनप्रतिनिधीले मनमानी गरिरहेका हामी सबैले सुनिरहेका छौं, तर जनप्रतिनिधी नभएपनि पालिका नै चलाइरहेको शायदै सुन्नुभएको होला ।
तर, अब शाअयद होइन् यथार्थमै यस्तो भइरहेको छ । त्यो पनि सप्तरीमै ।
जिल्लाको शम्भुनाथ नगरपालिका जनप्रतिनिधीले नभई गैर व्यक्तिले चलाउँदै आएका छन् ।
यो नगरपालिकाका मेयर जितेन्द्र गुप्ता विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदै निलम्बित छन् । आफू निलम्बित भएपछि उनले पालिकामा आफ्नो वर्चस्व कायम राख्न आफ्ना निकटका व्यक्ति अनिल भगतलाई कावा मेयर अनिता कुमारी चौधरीको सल्लाहकारमा नियुक्ति दिलाएका छन् ।
नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नदिने शर्तमा उनलाई नियुक्त गरेपनि नेकपा माओवादी केन्द्रका नेता रहेका भगतले आफू अुनुकल नगरपालिकालाई चलाउन खोजेका छन् ।
यहीं भगतले बिभिन्न योजना बेचेको आरोप लागेको छ । र त्यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रकृया अघि बढाएको छ ।
भगतमाथि आरसिसी ढलान र विद्युतिकरणका योजनाहरू बेचेको आरोप लागेको हो । सल्लाहकार भगतले नक्कली कर्मचारी खडा गरेर इन्धनको पनि दुरुपयोग गरेको आरोप छ । अख्तियारले यस बिषयमा पनि छानबिन प्रकृया अघि बढाएको छ ।
अख्तियारले नगरपालिकासँग यस विषयमा कागजात सहित राय प्रतिवेदन मागेको छ ।
स्रोतका अनुसार, सल्लाहकार भगतले योजनाको बिक्रीमा ठूलो रकम हात पार्नका लागि नक्कली ठेक्कादारहरूलाई प्रयोग गरेका छन् ।
सल्लाहकारले नगरपालिकामा मनोमानी गरेको पाइएपछि यसले नगरपालिकाको छवि र कार्यक्षमता दुवैमा गम्भीर प्रश्न उठाएको छ ।
अख्तियारले छानबिन प्रक्रिया सुरू गरिएसँगै स्थानीय प्रशासन र नागरिक समाजले यस घटनालाई गम्भीर रूपमा लिएका छन् ।
सामाजिक कार्यकर्ता र स्थानीय नागरिकहरूले यस घटनालाई ‘शासनको अपमान’ को रूपमा व्याख्या गर्दै, सरकारलाई यस प्रकारका भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कडा कारवाहीको माग गरेका छन् ।
स्थानीय नागरिक नरेश राउतले भने, ‘हामीले यसलाई सहन गर्ने छैनौं । भ्रष्टाचारको बिरूद्ध संघर्ष गर्न हामी एकजुट हुनेछौं ।’शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार संग योजना खरिद बिक्रीको विषयमा कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।







