काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले देशमा कालोसूची (ब्ल्याकलिस्ट) मा अत्यधिक संख्यामा नागरिक पर्नु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूको जिज्ञासामा उनले यस्तो धारणा व्यक्त गरे।
अर्थमन्त्री खनालका अनुसार कुनै पनि देशमा धेरै नागरिक कालोसूचीमा परेमा वित्तीय प्रणालीमा नकारात्मक असर पर्छ। “धेरै व्यक्ति ब्ल्याकलिस्टमा नपुगेको भए कर्जा प्रवाह अझै बढ्थ्यो,” उनले बताए।
उनले तरलता समस्यामा पनि ब्ल्याकलिस्टको असर रहेको उल्लेख गर्दै ग्रामीण तथा विपन्न वर्गलाई प्रवाह हुनुपर्ने कर्जा समयमै नजाँदा अर्थतन्त्रमा दबाब परेको बताए। कृषिमा जाने कर्जा तथा ब्याजअनुदानसम्बन्धी रकम सरकारले ढिलो भुक्तानी गर्दा १० अर्ब रुपैयाँ बाँकी रहनु ठूलो चुनौती भएको उनले स्मरण गरे।
खनालका अनुसार आफू पदमा आएपछि ती १० अर्ब रुपैयाँ निकासा गरिएपछि बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रतर्फ लगानी अभिमुख गर्न थालेका छन्।
“ब्ल्याकलिस्टमा धेरै मान्छे परेपछि उनीहरूले नयाँ कर्जा लिन पाउँदैनन्। यसले उत्पादनशील क्षेत्रमा लगानी रोक्छ, रोजगारी सिर्जनामा बाधा पुर्याउँछ र अन्ततः सरकारको राजस्वमा समेत प्रत्यक्ष असर गर्छ,” अर्थमन्त्रीले भने।
उनले अनुदानको रकम वितरणलाई नियमित बनाइँदै जाँदा ग्रामीण क्षेत्रका कर्जामार्फत तरलता क्रमशः सुध्रने विश्वास व्यक्त गरे। साथै, बेरुजु कम गर्ने कार्यलाई सरकार प्रभावकारी रूपमा अघि बढाइरहेको पनि उनले जानकारी दिए।







