वीरगञ्ज । भारत हुँदै बङ्गलादेशी तथा रोहिंग्या नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने जोखिम बढेपछि पर्सा र बारा जिल्लामा सुरक्षा व्यवस्था उच्च स्तरमा कडा पारिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी गरेको सूचना अनुसार विभिन्न सञ्चार माध्यम र प्राप्त ज्ञापन–पत्रमार्फत सीमा नाकाहरूमा परिचय नखुलेका व्यक्तिको चहलपहल बढेको जानकारी पाएपछि प्रहरी र सशस्त्र प्रहरीको निगरानी थप सुदृढ गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार वीरगञ्जसहित सबै नाकाहरूमा कडाइका साथ चेकजाँच भइरहेको छ।

प्रशासनले सर्वसाधारणलाई पनि अपरिचित वा शङ्कास्पद व्यक्तिलाई घरमा बस्न नदेऊ, काममा नलगाऊँ र भेटिए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्नु भन्ने स्पष्ट निर्देशन दिएको छ।

यही जोखिमका कारण भारतसँग ६० किलोमिटर सीमा जोडिएको बारा जिल्लामा पनि उस्तै सतर्कता अपनाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सबै सुरक्षा निकायलाई विशेष निगरानी निर्देश गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सजिलै वारपार गर्न सकिने ९० वटा स्थान पहिचान गरिएकाले ती सबै क्षेत्रमा चौबीसै घण्टा गस्ती बढाइएको छ।

उनका अनुसार सिम्रौनगढ नाकामा केही दिनयता शङ्कास्पद गतिविधि देखिएकाले सुरक्षा संयन्त्रलाई झनै सक्रिय बनाइएको छ। “भारतीय भूमि प्रयोग गरेर तेस्रो मुलुकका नागरिक घुसपैठ गर्न सक्छन् भन्ने सूचनाले हामी उच्च सतर्कतामा छौँ,” भट्टराईले बताए।

दुवै जिल्लाका अधिकारीहरूले अवैध प्रवेश रोक्न स्थानीयको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सीमा क्षेत्रमा कुनै पनि असामान्य गतिविधि देखिए सुरक्षालाई तुरुन्त जानकारी दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको