राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आईतवार अस्पतालमा विवाद उत्पन्न भएको छ ।
अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरिरहेका छन् । सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने संतोष सदाकी अन्दाजी २५ वर्षीया श्रीमति सुजान देवी सदालाई शुक्रबार सुत्केरी गराउन गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । सुजानले जन्माइएका शिशु छोरा रहेको छ । शिशुको गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । छिमेकी शिवशंकर पण्डितका अनुसार उनको शुक्रबार शल्याक्रियामार्फत बच्चा निकालिएको थियो । शनिबार राति स्वास्थ्यमा समस्या आएपछि डाक्टरलाई खोज्न जाँदा डाक्टर नभेटिएको पीडित परिवारको भनाई छ ।
शनिबार राति नै सुत्केरीको मृत्यु भएपछि सुजानका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरि रहेका छन् ।
मृतकको आफन्तहरूले दोषि डाक्टरलाई कार्वाहीको माग गर्दै अस्पतालको मूल गेटमा टायर बालेर नाराबाजी गरिरहेका छन् ।







