काठमाडौं । चैत १९ गते बिहीबार अर्थात भोलि देखि बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ । बोर्डका अनुसार यो वर्षबाट एसईई परीक्षामा नयाँ नियम पनि लागू भएको छ ।
बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) एक महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ । सम्बन्धित परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने पनि बोर्डले जनाएको छ ।
एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको बोर्डको भनाई छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले मन्त्रालयबाट एक महिनामै नतिजा सार्वजनिक गर्न निर्देशन आएको बताउँदै त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको जनाइसकेका छन् ।
यद्यपी कुनै परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि बोर्डले जनाएको छ ।
अघिल्ला वर्षहरूमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो भने एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो ।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर, ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो बढेकोप्रति बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले नयाँ निर्णय गरेको हो ।
मन्त्रालयले एसईई पछिको ब्रीज कोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको