काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी अघि सारेका छन् ।
च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना अनुरुप र आवश्यकता अनुसार भन्दै दलको नेतामा इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेम्वाङले जारी बैठकमा भने–‘पार्टीको विधि पद्धती र वरीयताको विषयमा म जानकार छु र सम्मान पनि गर्छु, तर अहिले देशमा उत्पन्न भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन । देशको परिस्थिति कस्तो छ भनेर सदन र सदन बाहिरको अवस्थालाई हेरेर हामी बुझ्न सक्नुपर्छ।’
पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार रहेको बताउँदै उनले आफ्नो भनाइ अग्रजहरूले गर्न नसक्ने भन्ने नरहेको प्रष्ट पारे ।
‘मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,’ उनले भनेका थिए–‘अहिलेको जनभावना र आवश्यकता अनुसार तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई पनि अवलम्बन गर्ने हुँदा संसदीय दल नेतामा म आफ्नो इच्छा व्यक्त गर्दछु।’
रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता छन् ।
यसैबीच, नेपाली कांग्रेसले भने संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया केही दिनभित्रै सुरू गर्ने तयारी गरेको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसले निर्वाचन समिति बनाएपछि संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्ने महामन्त्री गुरूराज घिमिरेले जानकारी दिए।
सम्भवतः शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र त्यसले निर्वाचन समिति बनाएपछि संसदीय दल नेता चयनको प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।
प्रतिनिधि सभामा ३८ सिट रहेको कांग्रेस प्रमुख प्रतिपक्षी दल हो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठक बस्ने बेला हुँदासम्म कांग्रेसले संसदीय दल नेता चयन गरेको छैन।
प्रतिनिधि सभामा कांग्रेस सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन्। सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन्। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन हुनेछ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पनि कांग्रेस संसदीय दल नेता हुने चर्चा पार्टीभित्र छ। उनी समानुपातिकतर्फबाट सांसद भएका थिए।







