काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले रामेछाप मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया भगवती खड्कालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
साइबर ब्यूरोका अनुसार खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बेइज्जत गराउने, घृणा र द्वेष फैलाउने गतिविधि गरेको आरोप छ।
यसले पीडितको सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए।
जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







