राजविराज । सप्तरीमा जापानिज इन्सेफ्लाइटिस (जापानिज इन्सेफलाइटिस) का कारण दुई जनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका र राजगढ गाउँपालिकाका एक/एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो।
दुवै जनाको साउन २१ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो भने रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा थप तीन जना पनि जापानिज इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए। उनीहरू उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन्।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्न सक्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। विशेषगरी साँझ र बिहान लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने तथा आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।







