राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले खडक नगरपालिका–११ बनाैली का वडा अध्यक्ष रामकृष्ण चाैधरीसँग रासायनिक मलको वितरणसम्बन्धी विस्तृत विवरण माग गरेको छ। रासायनिक मल वितरणमा अनियमितता भएको भनी स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय उजुरी दिइएका थिए ।
जिल्ला प्रशासन कार्यालयको उजुरी इकाईले खडक नगरपालिका–१ सिस्वास्थित मिसन कृषि फर्मले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, शाखा कार्यालय राजविराज र कृषि सामग्री कम्पनी लिमिटेड, राजविराजबाट २०८३ वैशाखदेखि साउन मसान्तसम्म प्राप्त गरेको रासायनिक मलको विवरण उपलब्ध गराउन वडा अध्यक्ष चाैधरीलाई पत्राचार गरेको हो।
कार्यालयले फर्मले उक्त अवधिमा युरिया, डीएपी र पोटास कति परिमाणमा प्राप्त गरेको थियो भन्ने विवरण माग गरेको छ। साथै, प्राप्त मल वडाभित्र कुन मापदण्डका आधारमा कति व्यक्तिलाई वितरण गरिएको हो र उक्त वितरणसम्बन्धी विवरण कुन आधार वा मापदण्डअनुसार प्रमाणित गरिएको हो भन्ने विषयमा समेत जानकारी माग गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले पत्र प्राप्त भएको दुई दिनभित्र आवश्यक विवरणसहित कार्यालयमा उपस्थित हुन वडा अध्यक्षलाई अनुरोध गरेको छ। यस्तै पछि फरक नपर्ने गरी प्रमाणित विवरण पेश गर्नसमेत भनेको छ ।
स्थानीय युवा नेता धर्मनाथ यादवले भने, हाम्रो वडामा रासायनिक मलको वितरण जिम्मा लिएका मिसन कृषि फर्मले किसान कार्डको दुरुपयोग गर्दै पटकपटक एटै व्यक्तिको नाम दोहोरिने गरि रजिस्टर मेनटेन गर्ने गरेको र वास्तविक किसानको मल पाउने पालो नआउने गरेको पाइएपछि हामी सामुहिक गुनासो जिल्ला प्रशासनमा गरेको बताए ।
यस्तै खडक नगरपालिका -१ सिस्वा स्थित रहेका मिसन कृषि फर्मलाई प्राप्त मल वडाभित्र कुन मापदण्डका आधारमा कति व्यक्तिलाई वितरण गरिएको हो र उक्त वितरणसम्बन्धी विवरण कुन आधार वा मापदण्डअनुसार प्रमाणित गरिएको हो, कागजात सहित दुई दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
स्थानीयहरूले राजबिराज स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै रासायनिक मल वितरण जिम्मा लिइएका डिलरका सञ्चालकले पहिला नै जम्मा भएको किसान कार्डको दुरुपयोग गर्दै फर्जी नाम चढाई नगरपालिका सबै मल वितरण गरिसकेको झुठो विवरण वडाअध्यक्षसंग प्रमाणित गराइ प्रत्येक लटमा केही मल कालोबजारी गर्दै आएको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत ‘मोना’ झाले हस्ताक्षर गरेको पत्रमा वडा अध्यक्षसँग मल प्राप्ति, वितरण र प्रमाणीकरणसम्बन्धी सम्पूर्ण विवरण माग गरिएको छ। र उक्त पत्रको बोधार्थ कृषि तथा वन पर्यावरण मन्त्रालय, सिंहदरबार काठमाडौं र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधामलाई समेतलाई पठाइएको छ।
खडक नगरपालिका -११ बनाैली मल वितरण जिम्मा पाएको संस्था बनाैलीबाट ७ किलोमिटरको घुमाउरो बाटोको दुरी नगरपालिकाकै वडा नम्बर -१ अवस्थित रहेको छ ।







