काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन्।

कांग्रेसको इतरपक्षीय राष्ट्रिय भेलाको बन्दसत्रलाई सम्बोधन गर्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे। आफूहरूले विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यस विषयमा धेरै टिप्पणी नगर्ने बताए।

देउवाले न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको भन्दै अदालतको निर्णय आफूले स्वीकार गर्ने स्पष्ट पारे। उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु।’

विशेष महाधिवेशनबारे आफूले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आग्रह गरेको तर आफ्नो आग्रह बेवास्ता गर्दै जबरजस्ती अधिवेशन गरिएको देउवाको भनाइ थियो।

‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले गरौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो,’ उनले भने, ‘जसको खिलाफमा हामी अदालतमा गयौँ।’

देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिएको दाबी गर्दै न्यायालयप्रति आफ्नो विश्वास रहेको बताए। उनले पञ्चायतकालदेखि नै न्यायालयले आफूहरूलाई न्याय दिएको स्मरण गरे।

‘म व्यक्तिगत रूपमा पूर्ण हिन्दु हुँ’

बन्दसत्रमा देउवाले धर्म र धार्मिक स्वतन्त्रताका विषयमा पनि आफ्नो धारणा राखे। आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा सबै नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुनुपर्ने बताए।

‘म हिन्दु हुँ। मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो। जनै पनि हालेको छु। बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ। म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ,’ देउवाले भने।

नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो। कुनै पनि धर्म मान्ने अधिकारबाट नागरिकलाई वञ्चित गर्न नहुने उनले बताए।

‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ। तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन। म हिन्दु हुँ। त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ उनले भने।

देउवाले बौद्ध धर्मप्रति समेत आफ्नो सम्मान र सद्भाव रहेको बताए। ‘मलाई बुद्धप्रति पनि माया छ। बुद्धिजमलाई आज संसारले मानेको छ। बुद्धिजमलाई वैज्ञानिक धर्म पनि मानेका छन्,’ उनले भने।

देउवाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवाद अझै अदालतको निर्णयमा निर्भर रहेको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको