सप्तरी । तस्करीको सामानसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडेको आरोपमा विवादमा तानिएका इलाका प्रहरी कार्यालय बोदेबरसाइनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्माको जिम्मेवारी खोसिएको छ ।
सई शर्मालाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा तानिएको हो । उनको स्थानमा नयाँ प्रहरी अधिकारीलाई जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ ।
गत साउन १८ गते बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँबाट भारतबाट भन्सार छली ल्याइएको मोबाइल पार्ट्स तथा मोटरसाइकलका सामानसहित भरिया सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई सामान र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा ल्याइएको थियो ।
पक्राउ परेका मण्डलसहित मोटरसाइकल र सामान छुटाउन मुख्य कारोबारी भनिएका देवकुमार यादव प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले यादवलाई समेत नियन्त्रणमा लिएको बताइएको छ । तर, पछि दुवैलाई छाडिएको घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो ।
घटनापछि तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरीले घटनाको विवरण र मुचुल्कासमेत फेरबदल गरेको आरोप लागेको छ । सुरुमा भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित व्यक्ति पक्राउ परेको भनिए पनि पछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको समय, स्थान र विवरण फरक ढंगले सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा साउन १९ गते राति करिब १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको उल्लेख गरेको थियो ।
प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी टोली पुग्दा प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल र बोरा छाडेर तस्करहरू फरार भएका थिए । प्रहरीले बोराहरू खोली जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको थियो ।
तर, पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी कार्यालयमा ल्याइएको र पछि छाडिएको घटनाबारे सार्वजनिक भएको विवरणसँग जिल्ला प्रहरी कार्यालयको प्रेस विज्ञप्तिको विवरण नमिलेपछि घटनामाथि थप प्रश्न उठेको हो ।
घटनाको विवाद चर्किएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सई शर्मालाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनको प्रमुखबाट हटाएर जिल्ला तानेको हो । घटनामा प्रहरीको संलग्नता, पक्राउ परेका व्यक्तिलाई छाडिएको विषय तथा मुचुल्का परिवर्तन गरिएको आरोपबारे थप छानबिन हुने अपेक्षा गरिएको छ ।







