राजविराज । सामाजिक सञ्जालबाट सर्वसाधारण मात्र नभई सरकारी अड्डा पनि पीडित बन्न थालेको पाइएको छ । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सञ्जालबाट आउने नकारात्मक टिकाटिप्पणीले सरकारी कार्यालयहरु वाक्कदिक्क भएका छन् । छाडा र गालीगलौजसहितको कमेन्टले मुलुकको सबैभन्दा ठूलो सुरक्षा संयन्त्र नेपाली सेना समेत आक्रान्त बनेको छ । अति नै भएपछि सेनाले सामाजिक सञ्जालबाटै प्रतिक्रिया लेखेर जवाफ फर्काउन थालेको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलसँग सम्बन्धित एउटा अनलाइन पोर्टलमा आएको समाचारमा एक व्यक्तिले कमेण्ट गर्दै लेखेका थिए, ‘सिग्देल सबैभन्दा ठूलो दोषी हो, उसलाई आजीवन काराबास गर्नुपर्छ । उसकै कारण आजभोलि सेनालाई जनताले विश्वास गर्दैन ।’ जवाफमा सेनाले लेखेको छ, ‘हेल्थ कण्डिशन ठीक छ तपाइँको ? चेक गर्नुपर्छ कि !’ सेनाले केही मीनेटमै सो प्रतिक्रिया हटाएको छ । मुलुकका कुनै पनि सुरक्षा संयन्त्रले सामाजिक सञ्जालबाट टिकाटिप्पणी गर्दैनन् । यसो गर्नबाट सुरक्षा संयन्त्रलाई कानुनले नै रोकेको छ ।

सामाजिक सञ्जाल प्रयोगको हकमा सेना झन् कडा छ । उसले आफ्नो अड्डाबाहेक अन्य विषयमा पोष्ट सेयर गरेको, कमेन्ट लेखेको आजसम्म पनि देखिएको छैन । एकाएक सेनाको लोगो भएको युजर नेमबाट आएको कमेण्ट आएकोमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । सेनाले सो कमेण्ट हटाएपनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । उक्त युजर हेर्दा सेनाकै हो भन्ने पुष्टि हुन्छ । सेनाले किन सार्वजनिक रुपमै कमेण्ट गर्‍यो ? गम्भीर प्रश्न उठेको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सो विषयमा साइबर ब्यूरोमा उजुरी दिइसकेको बताए । जनआस्थासँग भने, ‘चार–पाँच दिनअघि सो प्रतिक्रिया आएको रहेछ । हामीले साइबर ब्यूरोमा उजुरी दिएका छौं ।’ सामाजिक सञ्जालमाथि निगरानी राख्ने काम पनि भइरहेको उनले जानकारी दिए । साइबर ब्यूरोका प्रवक्ता उपरीक्षक दिपकराज अवस्थीले उजुरी आएको हुनसक्ने बताए । उनले भने,‘ठ्याक्कै त थाहा भएन । तर, उजुरी आएको हुनसक्छ ।’

यो त नमूना मात्र हो । नेपाल प्रहरीका एक पूर्वआइजीपी पनि सामाजिक सञ्जालबाट पीडित भएका थिए । उनले सार्वजनिक कार्यक्रममै सञ्जालबाट आउने नकारात्मक टिप्पणी, सूचनाले आफूलाई प्रभावित बनाएको बताए । सुरक्षा संयन्त्र र त्यहाँ कार्यरत उच्च अधिकृत नै सामाजिक सञ्जालबाट पीडित बनिरहेका छन् भने नागरिकको हालत के होला ? सामाजिक सञ्जालबाट आउने नकारात्मक टिकाटिप्पणीको बाढीले नागरिकलाई मानसिक रुपमा कति तनाव दिएको होला ?

विश्वमै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । नेपालमा पनि त्यसको प्रभाव पर्ने नै भयो । आम नागरिकलाई सामाजिक सञ्जालको लत लागेको छ । मुलुकको आधाभन्दा बढी जनसंख्याले सामाजिक सञ्जाल चलाउने गर्दछ । तर, सामाजिक सञ्जालको सदुपयोगभन्दा धेरै दुरुपयोग भइरहेको छ ।

सामाजिक सञ्जालको चरम दुरुपयोग भएपछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नियमन गर्न खोजेको थियो । डिजिटल प्लेटफर्महरुलाई नेपालमा दर्ता गर्न आह्वान गरिएको थियो । तर, कम्पनीहरुले टेरेनन् । त्यसपछि प्रतिबन्ध लगाउँदा सरकारको विरोधमा भदौ २३ र २४ गते जेनजी प्रदर्शन भयो । सो प्रदर्शनले सरकार ढाल्यो । सुशीला कार्की नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिइसकेको छ । नियमन र कारबाहीको ठोस कानुन नबनेसम्म सामाजिक सञ्जालको दुरुपयोग जारी रहने विज्ञहरुको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको