काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनभित्र गहिरो वैचारिक छलफलको आवश्यकता रहेको बताएका छन् ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी पार्टी ७७औँ वर्षमा प्रवेश गर्दैगर्दा उनले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा नेपाल कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि हालसम्म विभिन्न चरण-जस्तै विभाजन, पुनस्एकता, पुनर्गठन र रूपान्तरण-पार गर्दै आएको उल्लेख गरेका छन्।
पुष्पलाल श्रेष्ठको अगुवाइमा आरम्भ भएको संगठन अहिले नयाँ चरणमा प्रवेश गरिरहेको सन्दर्भमा यसको मार्गदर्शनका लागि स्पष्ट दृष्टिकोण अपरिहार्य रहेको उनले संकेत गरेका छन्।
भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीले स्थापित गरेको राजनीतिक विरासत वर्तमान नेतृत्वका लागि चुनौतीपूर्ण परीक्षाको विषय बनेको छ। उनले विशेष गरी पछिल्लो निर्वाचन परिणामले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता झनै बढाएको बताएका छन्।
‘पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथि पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परीक्षामा रहेको छ । तर प्रश्न छ के हामीले जबजलाई सही अर्थमा बुझेका छौँ ? सोही अनुरूपको व्यवहार गरेका छौँ ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौँ ? यसमा नीति, नेतृत्व, सङ्गठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो ? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गम्भीर बहस गरौँ,’ उनले लेखेका छन् ।
निर्वाचनमा आएको अपेक्षाभन्दा कम उपलब्धिको कारण खोज्न नीति, नेतृत्व संरचना, संगठनात्मक अवस्था तथा कार्यशैलीलाई समग्र रूपमा पुनरावलोकन गर्नुपर्ने उनले जोड दिएका छन्। साथै, जिम्मेवारी निर्धारण र सुधारका ठोस आधार तयार नगरेसम्म आगामी राजनीतिक यात्रामा स्पष्टता नआउने उनको भनाई छ।







