काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा समस्या भइरहेको गुनासो गरेका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढिरहेको बताउँदै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा नेपालमा दर्ता नहुँदा समस्या बढिरहेको बताएका हुन् ।
मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको भनाइ छ ।
आईजीपी कार्कीले भने- ‘फेसबुक, इन्स्टाग्रामलगायत प्लेटफर्मबाट प्रयोगकर्ताको विवरण लिन प्रहरीलाई २०(२५ दिनसम्म लाग्ने गरेको छ । सामान्य बुलिङ वा ह्यारेसमेन्टका घटनामा एक साताभित्र जानकारी आउँछ । सोसल मिडियाको प्लेटफर्म नेपालमा नै दर्ता नभएको कारणले अनुसन्धान गर्न समय लाग्ने गरेको छ ।’
महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले र नेपालमा प्रत्यक्ष कार्यालय र पर्याप्त कानुनी व्यवस्थाको अभावमा अनुसन्धानका लागि आवश्यक विवरण पाउन समस्या भइरहेको बताएका छन् ।
उनका अनुसार हालसम्म सामाजिक सञ्जालमा ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउनेसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएको छ । साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना दर्ता भएका छन् भने वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको छ ।
साथै एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की दिने, यौनजन्य हिंसा तथा ब्ल्याकमेलिङका गतिविधि पनि बढ्दो क्रममा रहेको उनले बताए ।







