राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाले प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा पुगेका सप्तरीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई उक्त ज्ञापनपत्र बुझाएका छन् ।
सरकारी कार्यालयहरूले सार्वजनिक सूचना खरिद गर्दा केवल सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको हो ।
महासंघले उक्त निर्णय प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र स्वतन्त्र सञ्चार माध्यममाथि प्रत्यक्ष हस्तक्षेप भएको ठहर गर्दै तत्काल खारेज गर्न माग गरेको हो ।
यस्तो निर्णयले निजी तथा स्वतन्त्र सञ्चार माध्यमलाई कमजोर बनाउने, उनीहरूको आवाज दबाउने र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत काम गर्ने उल्लेख गरेको छ ।
साथै सञ्चार गृहहरू संकटमा परे हजारौं श्रमजीवी पत्रकार तथा कर्मचारीको रोजगारी गुम्ने र उनीहरूको जीविकोपार्जनमा असर पर्ने महासंघको भनाइ छ ।
महासंघले सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चार माध्यममा न्यायोचित रूपमा वितरण गर्न माग गरेको छ।
विज्ञप्तिमा आफ्ना मागहरू बेवास्ता गरिए केन्द्रीय समितिको निर्देशनअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ ।







